१९ माघ २०७७, सोमबार

काठमाडौं, १९ माघ । शङ्करापुर नगरपालीकामा अवस्थित धार्मिक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मिक मेला लागिरहेको छ ।

श्री स्वस्थानीमा रचना भएअनुसार गोमा ब्रामहणी पुत्रनवराज राजाले राज्य गरेको प्राचिन नगर लावण्य देश साँखुको बाहिर रहेको नदी किनारमा भक्तजनहरु एक महिनासम्म पूजाआराधना गर्दै व्रत बस्ने गरेका छन् ।

प्रत्येक वर्ष शालीनदीमा भिड हुने भएपनि यो वर्ष भने कोरोनाको महामारीको कारण शालीनदी मेलामा एकदम न्युन मान्छेकाे उपस्थिति भएकाे पाइन्छ । शालीनदीकाे पानी भने  कञ्चन देखिएकाे छ । गत वर्षहरूमा यस्ताे सफा पानी देखिँदैन थियाे ।

याे वर्ष माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले बढीमा ५० जना व्रतालु राखेर व्रत पूजा सञ्चालन  गरिरहेकाे छ । गत वर्ष व्रतालु सङ्ख्या ३०० भन्दा धेरै थियो ।

व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालुहरु र भक्तजनहरुबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।

साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्ने गर्दछ ।

व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।

        

प्रतिक्रिया दिनुहोस्

LIVE TV