१९ माघ २०७७, सोमबार
  • हरिशंकर शर्मा

वीरगन्ज, १९ माघ । मुलुकमा स्थानीय सरकारलाई शिक्षाको अवस्था सुधार गर्ने अधिकार दिएसँगै पालिकाहरुमा रहेको विद्यालयहरुको अवस्था दयनीय बन्दै गएको छ । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका स्थित रहेको विद्यालयहरुको अवस्था हेर्दा संख्यात्मक रुपमा सामुदायिक विद्यालय टन्नै रहे पनि शैक्षिक अवस्था भने दयनीय छ । गाउँपालिकाको ५ वटा वडामा १ वटा माध्यमिक, २ वटा निम्नमाध्यमिक तथा १३ वटा प्राथमिक गरि १६ वटा विद्यालय रहेको छ, तर ति विद्यालयहरुमा विद्यार्थीको संख्या तथा त्यहाँ हुने गरेको अध्ययन, अध्यापनको अवस्थामा भने चित्तबुझ्दो छैन ।

विद्यार्थीको संख्या रजिष्टरमा थुप्रै छ, तर उपस्थिति भने छैन । विद्यालयको संख्या पनि थुप्रै छ, १००÷१०० मिटरको दुरीमा ३ वटा विद्यालयहरु छन् तर ति विद्यालयमा भने विद्यार्थीको संख्या एकदमै न्यून छ । स्थलगत रिपोर्टिड्डको क्रममा पकहामैनपुर गाउँपालिकाको वडा नं. ४ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, श्री हरिहर साह प्राथमिक विद्यालय तथा श्री हरिहरराज उपाध्याय प्राथमिक विद्यालयमा पुग्दा विद्यार्थीहरुको संख्या देखिएन् । सय सय मिटरको दुरीमा रहेका यि तिनवटा विद्यालयमध्ये श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पुग्दा दुई दर्जन पनि विद्यार्थीहरुको उपस्थिति थिएन ।

त्यही नजिकै रहेको श्री हरिहर साह प्राथमिक विद्यालयमा कक्षा १ देखि ४ सम्मका करिब ८० सयको हाराहारीमा उपस्थित बालबालिकाहरु अध्ययन गरि रहेका थिए । शिक्षकको संख्या पनि कमै छ भने विद्यालयमा भवनको पनि अभाव उत्तिकै छ । एउटा विद्यालयमा दुई दुई वटा कोठा सहितको एउटा भवन छ । जहाँ एउटै कक्षामा एक, दुई तथा तीनका विद्यार्थीहरुलाई राखेर अध्यापन गराइने गरिन्छ भने कक्षा ४ र ५ का विद्यार्थीहरुलाई एउटै कोठामा राखेर अध्यापन गराउनुपर्ने अवस्था रहेको शिक्षकहरुको भनाई छ ।

यहाँसम्म कि ति दुईवटा भवनभित्र विद्यालयका अन्य सामानहरु पनि राख्ने गरिएको छ भने त्यही कक्षा कोठाको कुनामा प्रधानाध्यापकको कार्यालय पनि बनाइएको छ । यसरी संख्यात्मक रुपमा विद्यालय संख्या बढि छ तर भवन, शिक्षक तथा पूर्वाधारहरुको अभाव छ । कतिवटा विद्यालयमा बेन्च नै छैन । चिसोको बेला बालबालिकाहरुले भुँइमा बसेर पढ्नुपर्ने अवस्था छ भने कतिपय विद्यालयमा दाताहरुले दिएको ससाना टेबुलहरु राखिएका छ, जसमा किताब राखेर भुइँमा बसेर अध्ययन गर्नुपर्छ ।

स्थानीय स्तरबाट बजेट निकाशा पनि राजनीतिक भेदभाव छ । विद्यालयहरु जनप्रतिनिधिहरुको भागवण्डामा परेको छ । मेयरको नजिकको मान्छे रहेको विद्यालयमा बढि बजेट निकाशा हुने गरेको छ भने उपाध्यक्ष, वडाध्यक्षहरुको भागवण्डामा परेको विद्यालयमाहरु क्रमशः कम बजेट निकाशा हुने गरेको छ । यहाँसम्म कि एउटा विद्यालयमा जाने बाटो समेत छैन । बालबालिकाहरुले खेतहुँदै विद्यालयमा जानुपर्ने अवस्था छ । विद्यालयमा दिवा खाजा कार्यक्रम पनि बन्द गरिएको छ, जसले गर्दा पनि विद्यार्थीको उपस्थिति संख्यामा कमि आएको शिक्षकहरुको भनाई छ ।

विद्यालयहरु नजिक नजिक भएको र पर्खाल नभएको कारण एक देखि अर्को विद्यालयमा बालबालिकाहरु सहजै आवत जावत गर्ने गरेका छन् । शिक्षकको पनि उत्तिकै लापरवाही छ । प्रधानाध्यापकको उपस्थिति छैन । श्री जनता प्राथमिक विद्यालय श्यामपुर भेलहाँमा पुग्दा त्यहाँ एक महिला तथा एक पुरुष शिक्षकले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई अध्ययन गराई रहेका थिए । उक्त स्कुलमा दरबन्दी १, निजी २ तथा कार्यालय सहायक गरि ४ जना शिक्षकहरु छन्, तर उपस्थिति भने दुईजनाको मात्रै थिए । विद्यालयका प्रधानाध्यापक अशोक साह चिसोले गर्दा विद्यालय उपस्थित हुन नसकेको त्यही अध्यापन गराई रहेका शिक्षकको भनाई छ ।

यसरी संख्यात्मक रुपमा विद्यालयको संख्या थुप्रै रहेपनि पढाईको अवस्था, शिक्षकको लापरवाही तथा भौतिक पूर्वाधारको कमि छ । विद्यालयहरुलाई व्यवस्थित गर्न गाउँपालिकाले पनि खासै चासो देखाएको पाइँदैन । कुन विद्यालयमा के कस्तो लापरवाही छ, गाउँपालिकालाई कुनै वास्ता छैन । यहाँसम्म कि गाउँपालिका कार्यालय आफै अभिभावक विहीन जस्तो बनेको छ । कुनै कामको लागि गाउँपालिका कार्यालय जाँदा त्यहाँ तल्लो स्तरका कर्मचारी बाहेक जनप्रतिनिधि वा प्रमुख प्रशासकीय अधिकृतसँग भेट हुँदैन । गाउँपालिका नै डामाडाेल अवस्थामा पुगेको छ ।

यसबारे गाउँपालिका वडा नंं. ४ का वडा सदस्य अनिल प्रसाद तेलीले यस गाउँपालिकामा शिक्षालाई पुरै छाडा बनाइएको आरोप लगाए । उनले यस गाउँपालिकामा शिक्षा सम्बन्धी कुनै किसिमको नीति, योजना तथा शिक्षा सुधारको लागि कुनै प्रावधान समेत नरहेको भन्दै कुन स्कुलमा शिक्षक आयो, कि आएन ? कुन बेला आयो ? यसबारे कसैलाई वास्ता नै नरहेको दुःखेसो पोखे । शिक्षा सम्बन्धी गाउँपालिकाले के गर्नुपर्ने हो, कसरी गुणस्तरीय शिक्षा हुन्छ भन्नेबारे उनीहरुलाई नै थाहा छैन भन्दै वडासदस्य तेलीले गाउँपालिकाले विद्यालयहरुमा गर्ने गरेको सौतेनी व्यवहारको कारण्या पनि शिक्षा स्तर खस्केको उनको भनाई छ ।

गाउँपालिका अध्यक्षले विद्यालय हेरी हेरी बजेट निकाशा गर्ने गरेको कारण पनि भौतिक पूर्वाधारहरु निर्माण हुन सकेको छैन, उनको वडामा रहेको माध्यमिक विद्यालयमा बजेट माथि बजेट निकाशा गरिएको छ तर त्यो बजेट कहाँ र कसरी खर्च गरियो भनेर खर्चको पारदर्शितापनि नगरिएको उनको आरोप छ । गाउँपालिकामा रहेको माध्यमिक विद्यालयमा व्यवस्थापन समिति छैन, गठन गर्न खोज्दा गाउँपालिका अध्यक्षकै निर्देशनमा भाँडभैलो हुने गरेको भन्दै अध्यक्ष चौरसियाले आफ्नो हाली मुहाली चलाउनका लागि नै व्यवस्थापन समिति गठनमा उनी नै रहेको बाधक बनेको बताए ।

यता पकहामैनपुर गाउँपालिका अध्यक्ष विजय चौरसियाले विगतको तुलनामा अहिले गाउँपालिकाको शैक्षिक अवस्थामा सुधार आएको दाबी गरेका छन् । विगत लामो समयदेखि जनप्रतिनिधि विहीन रहेको स्थानीय तहहरुमा त्यही बेलादेखि नै शैक्षिक अवस्था दयनीय रहेको तर आफू निर्वाचित भएर आएसँगै गाउँपालिकाका बालबालिकाहरुलाई कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने चिन्तत रहेको बताए ।

उनका अनुसार बेला बखत आफै विद्यालयहरुको अनुगमन गर्ने गरेको र कुन स्कुलमा कसरी अध्ययन अध्यापन हुँदैछ, कुन बेला शिक्षक आउँछ, कि आउँदैन, किन आउँदैन लगायतका कुराहरु आफैले छानविन गर्ने गरेको कारण गाउँपालिका स्थित रहेका विद्यालयको अवस्था विगत भन्दा अहिले हदसम्म सुधार पनि आएकार बताए । विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि भौतिक पूर्वाधार लगायत दरबन्दी अनुसारको शिक्षक हुनुपर्नेमा शिक्षकहरुको संख्यामा कमि आएको छ, त्यो समस्यालाई पनि समाधान गर्नेतर्फ लागि परेको बताए ।

विगत लामो समयदेखि यस गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुमा राजनीति हुने गरेको छ, राजनीतिकै कारण नजिक नजिकमा स्कुलहरु स्थापना भएका छन्, तर तिनीहरुलाई गाभेर एउटा स्कुल संचालन गर्नका लागि आफूले पहल गरेतापनि त्यहाँ स्थित शिक्षामा देखिएको राजनीतिकरणको कारण आफूपनि असफल भएको भन्दै तर यो समस्यालाई समाधान गर्नेतर्फ आफु लागि परेको विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV