१८ माघ २०७७, आईतवार
  • प्रकाश न्यौपाने,

रुपन्देही, १८ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सुत्केरी आमाहरुसँग शुभकामना सन्देशसहित नगर उप–प्रमुखको कोशेली भेट कार्यक्रम ल्याएको छ ।

सुत्केरी आमा तथा शिशुलाई पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने र आमा तथा बच्चाको पोषण स्थिति तथा स्वास्थ्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले भैरहवामा पत्रकार सम्मेलन गरी सुत्केरी आमा र नवजात शिशुलाई तन्दुरुस्त राख्ने उपायबारे जानकारी गराउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास गरेको छ ।

यो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा १६ लाख बजेट छुट्याइएको छ । नगर उपप्रमुखको कोशेली भेट कार्यक्रमबाट १ हजार ६ सय ९१ जना सुत्केरी आमाहरु लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

सुत्केरी आमाहरुलाई भेट्न जाँदा सुत्केरी अवस्थामा अपनाउनु पर्ने सन्देशमुलक शुभकामना कार्ड, एक किलो घ्यू, आधा किलो च्यवनप्रास, ३ सय ग्राम खजुर, आधा किलो महसहित आइरन चक्की, क्याल्सियम, भिटामिन ए पनि वितरण गरिने नगर उपप्रमुख उमा काफ्लेले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन नेपाली नागरिक हुनुपर्ने, शिशुको जन्म दर्ता, ४५ दिनभित्रका सुत्केरी आमा हुनुपर्ने, अस्पताल वा प्रसुति केन्द्रमा सुत्केरी भएको प्रमाण हुनुपर्ने, नेपाल सरकारबाट सुत्केरी सुविधा प्राप्त नगरेका सुत्केरी आमाहरु हुनु पर्ने र नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने मापदण्ड बनाइनएको छ ।

पोषणको कमीले आमा र शिशुको स्वास्थ्यमा देखा परिरहेका विभिन्न समस्या समाधान गर्न यो कार्यक्रम सफल भएमा फलदायी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV