१८ माघ २०७७, आईतवार
  • केदार शर्मा,

चितवन, १८ माघ । भरतपुर महानगरपालिका वडा नम्वर १५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा आर्थिक समस्या उत्पन्न भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ यतिबेला उधारोमै भएपनि रंगशाला निर्माणमा जुटिरहेका छन् ।

रंगशालाको प्रवेशद्वारमै बनेको नमूना रंगशालामा त केही महिनाअघि राष्ट्रिय टिमका अधिकांश खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता सम्पन्न गरियो । उत्त मैदानमा राष्ट्रिय टिमका खेलाडी आउदै गर्दा नेपालीहरु छिट्टै अब रंगशाला निर्माण हुने आशामा पनि थिए ।

हुन पनि रंगशाला निर्माणमा आर्थिक अभाव नभएको भए एक वर्षभित्रमा निर्माणको काम सक्ने धुर्मूसको दाबी छ । झट्ट हेर्दा बन्दै गरेको रंगशालाको मुख्य क्रिकेट मैदान र प्याराफिटले पनि रंगशालाको आकार लिएको पाइन्छ ।

हालसम्म रंगशालाको मैदान निर्माणको काम ८५ प्रतिशत सकिएको छ । अहिले स्ट्यान्ड ए र बी दुबै प्याराफिटको जग तयार भइ प्लिन्थ बिमको काम सम्पन्न भइसकेको छ । साउन १ गते बाट सुरू भएको पिलर निर्माणको काम ६ महिनाको अवधिमा २८६ वटा पिल्लर उठिरहेको देख्न सकिन्छ ।

पुष मसान्तसम्मलाई हेर्ने हो भने रंगशाला निर्माणका लागि ३८ करोड ५४ लाख ९७ हजार १५५ रुपैयाँ खर्च गरिसकेको छ । तर अहिलेसम्मको आम्दानी भने करिब ३१ करोड रुपैयाँमात्रै छ ।

पछिल्ला दिनको पनि हिसाब गर्दा रंगशालाको आम्दानीभन्दा ८ करोड रुपैयाँ बढी खर्च भएको देखिन्छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा रंगशाला निर्माणका लागि ३ अर्ब ५५ करोड रुपैयाँ लाग्ने उल्लेख छ ।

रंगशाला निर्माण महाअभियानमा जोडिनेहरुले रंगशालालाई सहयोग गर्ने बचन दिएकोे भएपनि उत्त रकम संकलन नभएको धुर्मुस बताउछन् । धुर्मुसका अनुसार रंगशालाका लागि बोलकबोल भएर पनि उठ्न नसकेको रकम हालसम्मको कुल खर्च रकमभन्दा करिब दोब्बरले बढी छ ।

रंगशाला निर्माणका लागि सहयोग घोषणा गर्नेलाई हरेक दिनजसो फोन गरेर सम्झाउने गरेको धुर्मुसको भनाइ छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गत वर्षको माघ १९ देखि २६ गतेसम्म धनधान्याचल महोत्सव आयोजना गरिएको थियो ।

केही रकम भएपनि सहयोग हुने उद्देश्यले गरिएको उत्त महाज्ञमा बोलकबोलको रकम समेत हालसम्म संकलन नभएको अवस्था छ । महायज्ञबाट ६९ करोड रुपैयाँ बोलकबोल भएको घोषणा गरिएको थियो । तर उक्त रकमको करिब १५ प्रतिशतमात्रै रंगशालालाई प्राप्त भएको छ । पुष मसान्तसम्ममा जम्मा १२ करोड संकलन भएके देखिन्छ ।

उसो त धान्याचलमा बागमती प्रदेश सकारले ३० करोड रुपैयाँ सहयोग घोषणा गरेकोमा अहिलेसम्म एक रुपैयाँ पनि सहयोग गरेको छैन । उता बागमती सरकारले अहिलेसम्म रंगशालाका लागि विनियोजित बजेटबाट ३ करोड रुपैयाँ सहयोग गरेको भएपनि उत्त रकम धान्याचलमा बोलेकोभन्दा फरक रहेको छ ।

बागमति प्रदेश सरकारसँगै महोत्सवमा नेपाल सरकारका विभिन्न निकायले ५१ करोड १२ लाख ३० हजार ८३२ रुपैयाँ सहयोग घोषणा गरेका थिए । यता भरतपुर महानगरपालिकाले भने रंगशाला निर्माणको लागि ८ करोड सहयोग गरेको छ ।

त्यस्तै यता जिल्ला समन्वय समितिले महायज्ञलाई २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोगको घोषणा गरेको थियो । तर हालसम्म उत्त रकम मध्य रंगशालाले १ रुपैया पनि पाएको छैन्, अचम्मको कुरा त सहयोग समितिका संयोजक समन्वय समितिका प्रमुख कृष्ण प्रसाद डल्लकोटी रहेका थिए ।

महोत्सवको आर्थिक व्यवस्थापन समितिका सदस्य टीकाराम लामिछानेकाअनुसार सरकारी निकायले बोलकबोल गरेको अधिकांश सहयोग रकम यस्तै प्राविधिक कारण देखाएर अड्काइदै आएको छ ।

गैंडाकोट नगरपालिकाले कबोल गरेको १ करोड, जिल्ला समन्वय महासंघले दिने भनेको ७७ लाख रुपैयाँ, मनहरी गाउँपालिकाले बोलेको ५५ लाख, माडी नगरपालिकाले बोलेको ३० लाख, कालिका नगरपालिकाको १५ लाख ५५ हजार ५५५, रत्ननगर नगरपालिकाको ७ लाख र राप्ती नगरपालिकाको ४ लाख रुपैयाँ प्राप्त भएको छैन ।

जिसस प्रमुखकै अग्रसरतामा चितवनका स्थानीय तह र गैंडाकोट नगरपालिकामासमेत सहयोग समिति बनाइएको थियो । तर ती समितिले सहयोग अभियान सञ्चालन नै नगरेको गुनासो रंगशाला निर्माणका अभियन्ता गर्छन् ।

उसो त संविधान सभा सदस्यदेखि प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका आधा दर्जन बढी सांसदले समेत बोलेको रकम रंगशालालाई दिएका छैनन् । उनीहरूले ५० हजारदेखि ११ लाख ५१ हजार रुपैयाँसम्म बोलेका थिए ।

देशभर चर्चा कमाएका व्यापारी, निर्माण व्यवसायीदेखि अस्पताल तथा मेडिकल कलेज सञ्चालकले बोलेको रकम पनि प्राप्त हुन सकेको छैन । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ उधारो तिर्न नसक्दा असाध्यै पीडा भएको सुनाउँछन् ।

रंगशालाका लागि धमाधम सहयोगको घोषणा भइरहँदा उनले व्यवसायीसँग करोडौं रुपैयाँका निर्माण सामग्री उधारोमा ल्याएका थिए । घोषणा गरिएको उल्लेख्य सहयोग रकमका कारण व्यवसायीले सहज रूपमा सामग्री उपलब्ध गराएका थिए ।

स्वघोषणा गरिएको रकम प्राप्त हुन नसक्दा फाउन्डेसनले उधारोमा ल्याएको सामानको पैसा चुक्ता गर्न सकेको छैन । बिहान उठेदेखि सुत्नुअघिसम्म उधारोको विषयमा मात्रै फोन आउँदा धुर्मुस मानसिक तनाबमा जस्तो देखिन्छन् ।

बोलकबोल गरिएको रकम समयमै उठ्ला भनेर एक महिना भित्रैमा तिर्छौं भनि ल्याइएको सामानको पैसा एक वर्षसम्म पनि तिर्न नसक्दा पछिल्ला दिनमा तुरून्तै पैसा देउ भनेर धम्क्याउने, थर्काउने शैलीमा पनि फोन आउने गरेको धुर्मुस बताउँछन् ।

उनका अनुसार एउटै व्यवसायीसँग साढे तीन करोड रुपैयाँसम्मको सामग्री उधारोमा ल्याइएको छ । यो अवस्थामा त गतिमा गइरहेको काममै ब्रेक लाग्ने हो कि भन्ने चिन्ता समेत पर्न थालेको सुन्तलीको भनाइ छ ।

गत दशैंमा कामदारलाई ज्याला दिन नसक्दा फाउन्डेसनले अध्यक्ष कट्टेल र कर्मचारीको नाममा ऋणसमेत लिएका थिए । धुर्मुसले कर्मचारीको तलबका लागि भन्दै बिभिन्न सहकारी मार्फत ९० लाख रुपैयाँ ऋण लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV