१७ माघ २०७७, शनिबार

काठमाडौं, १७ माघ । त्रिभूवन आर्मी क्लबले चौंथो संस्करण प्रधानमन्त्री कप (पीएम कप) एकदिवशीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो ।

एपीएफका लागि आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । उनले ७१ बलमा ६१ रन जोड्दै खराब सुरुवात गरेको एपीएफको इनिङ्स उकासेका थिए ।

आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३÷३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV