१७ माघ २०७७, शनिबार
  • माेहन विक्रम शाही

जुम्ला, १७ माघ । जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठी गाउँमा मंगलबार राति भएको भीषण आगलागीबाट ३२ वटा घर जलेर नष्ट भए । साे घटनामा २५६ जना व्यक्ति घरबारविहीन बने । हिउँदको कठ्यांग्रिँदो चिसोमा घरविहीन बनेका गोठी गाउँका बासिन्दालाई दुई दिनपछि बिहीबार राहत बाँड्न कर्णाली सरकारकाे हेलिकप्टर आयाे ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, प्रदेश सांसदहरू दिनबन्धु श्रेष्ठ तथा पदम रोकाया, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र केही स्थानीयहरु हेलिकप्टर रिजर्भ गरेर अग्नि पीडितलाई राहत दिन गाेठी गाउँ आइपुगेका थिए ।

जुन राहत सडक मार्गबाट पठाईएको भए पनि एक दिनअगाडि नै बुधबार बेलुकीसम्म सो स्थानमा पुगिसक्थ्यो । र, हेलिकप्टर भाडा तथा नेताहरुको अन्य खर्च जाेगिन्थ्याे । त्यस खर्चले हाल पाएको भन्दा दोबर राहत पाउँथे अग्नि पीडितले । तर प्रदेश सरकारका मनत्री तथा सांसदले हेलिकप्टरमार्फत तामझाम गरेर गए ।

हेलिकप्टरबाट बिहीबार पुगेको प्रदेश सरकारको टोलीले चामल ७ क्विन्टल, दाल डेढ क्विन्टल, तेल ७ पेटी, कम्बल ९० पिस, पीपीफर्म ३ रोल र प्रेसर कुकर २८ थान गरी करिब ३ लाख रूपैयाँ बराबरकाे राहत वितरण गरेको छ  । तर हेलिकप्टर रजर्भकाे खर्च कति हाे, यकीन नखुलाइए पनि पक्कै राहतभन्दा दाेब्बर खर्च भएकाे स्थानीयहरूकाे अनुमान छ ।

मन्त्री, सांसद र स्थानीय जनप्रतिनिधि हेलिकप्टरबाट प्रति ब्यक्ति २ केजी चामल बाँड्न आएपछि स्थानीय पीडितहरू निराश देखिए । विपत्तीको मौका छोपेर नेताहरूले हेलिकप्टर चढ्ने धोको मात्र पूरा गरेको स्थानीयको आरोप छ । हेलिकप्टरसहितको खर्च जोडेर जुम्लाबाटै सामान खरिद गरेर जिल्ला प्रशासन वा स्थानीय सरकारको जिम्मामा दिन पनि सकिन्थ्यो । तर मन्त्री र सांसदको राहत बाँड्नेभन्दा पनि रमिता गर्ने धाेकाे पूरा भएजस्ताे देखियाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV