१६ माघ २०७७, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), १६ माघ । नेपाली कांग्रेसका विघटित प्रतिनिधिसभा सदस्य एवं उद्योगपति विनोद चौधरीले नेपालमा उद्योगीहरुको लागि लगानीको वातावरण र बेरोजगार युवाहरुको लागि रोजगारीको सिर्जना गर्नुपर्ने बताएका छन् ।

वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले राजनीतिक दलहरु भित्रपनि धेरै व्यक्तिहरु गरिखाने भएकोले उनीहरुका लागि एउटा प्लेटफर्म तयार गर्ने उद्देश्यसहित नेपाली कांग्रेसले ‘गरिखाने अभियान’ शुरु गरेको बताए ।

समाजमा गरिखानेप्रतिको सकारात्मक भावना र त्यसपछि समाजले गरिखाने भन्ने सिद्धान्तको निर्माण गरेर परिवर्तन ल्याउनु नै अभियानको उद्देश्य रहेको भन्दै चौधरीले कोरोना संक्रमण महामारीले पनि मुलुकभित्रै केही गर्नुपर्छ भन्ने पाठ सिकाएको कारण पनि नेपालको सातवटै प्रदेशमा अभियान सञ्चालन गरिएको बताए ।

उनले सो अभियानको शुरुवात प्रदेश २ को वीरगन्जबाटै गरिएको जानकारी गराउँदै विस्तारै सातवटै प्रदेशमा यसको संरचना निर्माण गरिने दाबी समेत गरे ।

‘मुलुकमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योजनाहरु प्रशस्तै छन्, म यो काम गर्न चाहन्छु’ भन्नेले पनि कामको योजना बनाउन सक्नुपर्छ भन्दै उद्योगपति चौधरीले ‘ठगीखाने होइन मुलुकभरि गरिखाने’मा विश्वास गर्नेहरुलाई कसरी मूलधारमा ल्याउन सकिन्छ ? त्यसको लागि नेपाली कांग्रेसले नेतृत्व गरेको समिति नै प्लेटफर्म बन्नुपर्छ, भन्ने उद्देश्यले अभियान शुरु गरिएको बताए ।

यस अभियानका सहसंयोजक तथा पूर्व सांसद अनिल कुमार रुंगटाले धेरै युवा उद्यमीहरु लगानी सुरक्षाको विषयमा चिन्तित रहेकोले उनीहरुलाई लगानीको प्रोत्साहन र वातावरण आवश्यक भएकोले यो अभियान उक्त युवाहरुको लागि सहयोगी बन्न सक्ने विश्वास व्यक्त गरे ।

नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहानको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पूर्वमन्त्री सुरेन्द्र चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बञ्जारालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV