१६ माघ २०७७, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), १६ माघ । पर्सा प्रहरीले विभिन्न घटनामा संलग्न रही पक्राउ परेका ६ जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा अभियुक्तहरुलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले सम्पत्तिका लागि आफ्नै भतिजोको हत्या गरेको आरोपमा चाचासहित तीनजना, समलिंगी संसर्ग गरेर हत्या गरेको आरोपमा एकजना तथा लागू औषध सहित पक्राउ परेका २ जना गरी ६ जनालाई सार्वजनिक गरेका हुन् ।

गत मंसिर पुस १ गते पर्सागढी नगरपालिका–९ चैनपुरस्थित खेतको आलीमा रहेको पकडीको रुखमा झुण्डिएको अवस्थामा बहुदरमाई नगरपालिका–४ निवासी २१ वर्षीय अकलेश राउत अहिलेको शव फेला परेको थियो ।

उक्त घटनालाई आत्महत्या देखाइएको भएतापनि सम्पत्तिको लागि आफ्नै चाचासहित तीन जनाको समूहले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको र त्यसमा आरोपित चाचासहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ बस्ने ५१ वर्षीय भागरित राउत अहिर, ४१ वर्षीय शेष ताहिर मियाँ र २७ वर्षीय छठु पटेल भन्ने दिनेश पटेल रहेका छन् ।

प्रहरीका अनुसार अभियुक्त भागरित मृतकको फुपाजु हुन् । बुबा शिवचरण राउत अहिरको दुई भाइ भएपनि उनीहरुको अकलेश मात्रै एक्लो छोरा थिए । अकलेशको मृत्यु पश्चात निजको बुबा तथा ठूलोबुबाको नाममा भएको जग्गा जमिनलगायत सम्पत्तिको एक्लो हकदार भागरित नै हुन्थे ।

सोही योजना अनुसार घटना भन्दा २ दिन अघि अन्य अभियुक्तहरुसँग भेटी आर्थिक प्रलोभनमा पारी योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले अकलेशको घाँटीमा डोरीले कसेर मारेर हत्या गरि अकलेशकै गलबन्दीको पासो बनाई रुखमा झुण्ड्याएर आत्महत्या जस्तो देखाउन खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको पाण्डेको भनाइ छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको हो ।

यसैगरि पर्सा प्रहरीले बालकको हत्यामा संलग्नको आरोपमा बहुदरमाई नगरपालिका–२ घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. १४ राधेमाई बस्ने १९ वर्षीय रेयन महतो कम्कर पक्राउ गरेको छ ।

विगत ४ वर्ष अगाडि २०७३ साल असोज १९ गते वीरगन्जमै लागेको मेला हेर्न आएका बहुदरमाई नगरपालिका–८ निवासी ९ वर्षीय बालक राजन पटेलको असोज २० गते वीरगन्ज–१४ चिनिमिल आवास क्षेत्रभित्र शव फेला परेको थियो ।

घटना भएको चार वर्ष पश्चात पर्सा प्रहरीले उक्त घटनाका अभियुक्तलाई पक्राउ गरेको हो । बालकको हत्याको कारण बाल यौन दुरुपयोग (समलिंगी संसर्ग) गरेर हत्या गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका कम्कर रक्सी, लागुऔषध सेवन गर्ने र समलैंगिक संसर्ग राख्ने खालको व्यक्ति रहेको भन्दै प्रहरी उपरीक्षक पाण्डेले समलैंङ्गिक सम्बन्ध राख्ने क्रममा घाँटी थिच्दा भाँचिएर बालकको मृत्यु भएको अनुसन्धानबाट खुलेको बताए ।

अभिययुक्तले नै बालकलाई मेलाबाट फकाएर लिएर गएकोले घटनामा अन्यको संलग्नता नदेखिएको भन्दै प्रहरी उपरीक्षक पाण्डेले कम्करविरुद्ध मृतकको बुवा विनेद पटेलले जाहेरी दरखास्त दिएका छन् र उनी विरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए ।

बालकको बहुदरमाई घर भएपनि उनी आफ्नो परिवारसँग वीरगन्जमै बसेर राधेमाईस्थित ग्रेस इङ्गलिस बोर्डिङ्ग स्कुलमा पढ्दै आएका थिए ।

यसैगरि पर्सा प्रहरीले लागू औषध ओसार–पसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २८ वर्षीय जलन्धर दास र २० वर्षीय जयप्रकाश मेहता रहेका छन् ।

उनीहरुलाई पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका १९ बर्वाबाट १८ सय एम्पुल लागूऔषधसहित पक्राउ गरेको थियो । अटोमा अवैध कारोबार भइरहेको प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले ना.१ ह ४६४४ नम्बरको अटो चेकजाँच गर्दा लागूऔषध बरामद गरी चालक र त्यसमा सवार दुईजनालाई पक्राउसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV