१६ माघ २०७७, शुक्रबार
  • तारा आचार्य,

विराटनगर, १६ माघ । झापाको कमल गाउँपालिकामा वातावरण प्रदूषणलाई बेवास्ता गर्दै घना मानवबस्ती छेउमै इँटा उद्योग खोल्ने तयारी गरेपछि स्थानीयवासीहरु आन्दोलित बनेका छन् ।

उद्योगी गुणराज थापाले झापाको कमल गाउँपालिका १ स्थित रतनचौनमा गाउँलेको असहमति हुदाँहुदै जबरजस्ती इँटा उद्योग खोल्न लागेकोमा वातावरणमैत्री समाज निर्माणका लागि प्रदूषणयुक्त उद्योगविरुद्ध उनीहरूले पत्रकार सम्मेलनको आयोजना गर्दै त्यसको घोर विरोध गरेका हुन् ।

उद्योगी थापाले सो स्थानमा निजी स्वामित्वमा रहेको १६ बिघा जमिनमा इँटा उद्योग खोल्ने भनी २०७३ साल कात्तिक ९ गते गाउँपालिकाबाट पहिलो पटक एउटा पत्र आएको थियो । गाउँलेको हातमा पत्र परेपछि त्यही पत्र लिएर तत्काल गाउँपालिका पुगेर विरोध गरेको स्थानीय तुलसीराम दंगालले बताए ।

गाउँपालिकाका उपाध्यक्ष वेणु शिवाकोटीले गाउँलेको सहमतिबिना इँटा उद्योग खोल्न नपाइने आश्वासन दिएपछि ढुक्क भएर फर्किएको उनले बताए । त्यसपछि इँटा उद्योगविरुद्ध ३२० जना गाउँलेको हस्ताक्षर गराएर गाउँपालिकामा निवेदन दर्ता गराएको भन्दै उनले भने, ‘गाउँपालिकाको सिफारिस पत्रसहित घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर पुगेर त्यस विषयमा जानकारी गराएको थियौँ ।’

तर, उद्योगी थापाले केही कुण्डले मुण्डलेको आडमा गाउँवासीलाई कहिले इँटा उद्योग त कहिले सिमेन्ट उद्योग खोल्ने भन्दै बारम्वार उत्तेजित बनाउँदै आएको दंगालले बताए । ‘उद्योगी थापाले गाउँवासीलाई धम्क्याउने, तर्साउने र फकाउने गर्दै उद्योग खोल्ने तयारीमा लागेको गाउँले थाहा पाएपछि हामी त्यसको प्रतिकारमा उत्रिएका हौँ’ अर्का स्थानीय नरेन्द्र गौतमको भनाइ छ ।

इँटा उद्योगको वायु प्रदूषणले वातावरणमा ठूलो असर पर्ने भएकोले त्यसको विरोधमा उत्रिएको युवा नेता रविन ढुङ्गानाको भनाइ छ । ‘वायु मण्डलमा पीएम नाम कणको मात्रा ४० हुनु पर्नेमा इँटा उद्योगबाट निस्किने प्रदूषणको मात्रा त्यसलाई बढाएर ५ सय बनाउने काम गर्छ’, उनले भने, ‘जुन वातावरणको लागि खतरनाक वायु हो, त्यसैले हामी इँटा उद्योग खोल्न दिने पक्षमा छैनौँ ।’

‘वातावरणमैत्री उद्योग वा पार्क खोल्न आएमा त्यसको हामी स्वागत गर्छौ’, उनले भने । उद्योगी थापाले स्थानीयको विरोधका बाबजुत प्रदूषण फैलाउने र मानव बस्तीलाई विस्थापित गराउने उद्देश्यले उद्योग खोल्ने तयारीको वर्षौँदेखि नै विरोध गर्दै आएको स्थानीय सन्तोष कटुवाल बताउँछन् ।

उद्योगीले पहिले कुरा मात्र गर्ने गरेको तर यस पटक उद्योगको संरचना निर्माणका लागि सरसामान नै झार्न थालेपछि स्थानीयहरू संगठित बन्दै आन्दोलनमा उत्रिएको उनको भनाइ छ । ‘अब हामी वारपारको अवस्थामा पुगेका छौँ, यसका लागि रगतको खोला पनि बग्छ’, उनले भने ।

त्यस्तै स्थानीय सविता कटुवालले उद्योगी दादागिरी शैलीमा इँटा उद्योग खोल्न लागेकाले त्यसको प्रतिकारमा उत्रिएको बताइन् । टोल विकास संस्था, नागरिक समाज, गाउँवासीको सहमतिबिना कुन कानूनले इँटा उद्योग खोल्ने अनुमति दिएको प्रश्न गर्दै उनले भनिन्, ‘पैसा र शक्तिको आडमा कानूनलाई लत्याएर जे पनि गर्न पाइन्छ ?’

यता कमल गाउँपालिका १ नम्बर वडाध्यक्ष केदार कटुवालले गाउँमा इँटा उद्योग खोल्ने विषयमा वडा कार्यालय र गाउँपालिकामा आधिकारिक रुपमा केही सूचना र पत्र नआएको बताए ।

उद्योगीले कहाँबाट अनुमति ल्याएर उद्योग खोल्ने तयारीमा लागेको आफू पनि आश्चर्यमा परेको उनको भनाइ छ । उद्योग खोल्ने विषयमा वडा कार्यालयबाटै सरजमिन हुनुपर्ने बताउँदै उनले यस विषयमा आफूलाई पनि थाहा नभएको प्रतिक्रिया दिए ।

उद्योगी थापाले पैसा र आफ्नो निकटका सम्बन्ध भएका मानिसहरूलाई प्रलोभनमा पारेर मानव स्वास्थ्य र स्थानीयलाई विस्थापित गराउने खेलमा लागेकाले यसविरुद्ध जस्तोसुकै कदम चाल्न पछि नपर्ने स्थानीयबासीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV