१६ माघ २०७७, शुक्रबार
  • केदार शर्मा,

चितवन, १६ माघ । स्थानीय सरकारलाई जानकारी नगराई प्रधानमन्त्री केपी शर्मा ओलीले गोन्द्राङ्ग–नारायणगढ ६ लेन सडक र सिटीहलको शिलान्यास गर्ने कार्यक्रमको महानगरले विरोध जनाएको छ ।

देश संघीयतामा गएको अवस्था र देशको राजनीतिक अवस्था संकटमा रहेको बेला कुनै समन्वय र जानकारी नगराई दुवै परियोजनाको शिलान्यास गर्ने तयारी गरेकोमा महानगरले पत्रकार सम्मेलन गर्दै विरोध जनाएको हो ।

मेयर रेणु दाहालले गौरवको आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलान्यास काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नमिल्ने बताएकी छन् ।

महानगरपालिकाकै सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख दाहालले महानगरसँग कुनै समन्वय नै नगरी, कुनै जानकारी नगराई स्थानीय तहको गौरवको आयोजनामा केन्द्र सरकारले हस्तक्षेप गर्नु शक्तिको दुरुपयोग भएको बताइन् ।

संघीयताको मुल मर्म विपरीत केन्द्रिकृत शासनको झल्को दिन खोजिएको भन्दै मेयर दाहालले भनिन्, ‘यो कार्यले स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप भएको छ । केन्द्र सरकारले स्थानीय सरकारमाथि गरेको गम्भीर विभेद हाम्रो लागि सह्य छैन ।’

उनले थप भनिन्, ‘विगत तीन वर्षदेखि प्रयास गर्दा–गर्दा बल्ल निर्माणको काम सुरु भएको अवस्थामा केन्द्र सरकारले आफूखुसी शिलान्यासको काम गर्न खोजेको सुन्दा महानगरको चित्त दुःखेको छ ।’

“भरतपुर महानगरले परिकल्पना गरेको सिटीहल र गोन्द्राङ्ग–नारायणगढ छ लेन सडकको निर्माण कार्य तीव्र भइरहेको छ । अहिले चुनाव घोषणा गरेर गौरवका आयोजना सिलान्यास गर्ने काम पूर्ण रुपमा नियम विपरीत छ” मेयर दाहालले भनिन्, “मनपरि ढंगले केन्द्रले शिलान्यास गर्दा स्थानीय निकायको भूमिका निर्धारण गर्नु पदैन ।”

भोली शिलान्यास गर्ने कार्यक्रमको अभिभावक भरतपुर महानगर भएकाले राज्य शक्तिको दुरुपयोग गरेर गरिने शिलान्यासको महानगरले विरोध गरेको उनले स्पष्ट पारिन् ।

योसंगै निर्माणाधीन सिटीहल र गोन्द्राङ–नारायणगढ छ लेन सडक केन्द्र सरकार र भरतपुर महानगरको बीचको प्रतिष्ठाको लडाँइका रुपमा परिणत समेत भएको छ ।

केन्द्रले सिटीहल र गोन्द्राङ–नारायणगढ छ लेन सडकको शिलान्यास गरेर प्रतिष्ठाको बिषय बनाएपनि यी परियोजनामा महानगरको सक्रियता कम नहुने दाहालले स्पष्टयुक्ति थियो ।
भरतपुर महानगरपालिकाको गौरवको आयोजना सिटी हल निर्माणले तीव्रता लिएको छ । दुई हजार सिट क्षमताको सिटिहलको लागि ठेक्का सम्झौता भएसँगै कामले गति लिएको छ ।

भरतपुर महानगरपालिका १० मा निर्माण भैरहेको सिटीहल मङ्सिर १८ गतेबाट निर्माण सुरु भएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत निर्माण भैरहेको हलको इण्डो सगुन रौताहा जेभीले निर्माण ठेक्का पाएको छ । ८७ करोड ८८ लाख निर्माण ठेक्का सम्झौतामा काम अघि बढाएको हो ।

भरतपुर महानगरको गौरवको आयोजना सिटीहल सम्झौता भएको २७ महिनाभित्र निर्माण सम्पन्न हुने गरि कामले तीव्रता पाइरहेको छ । सिटीहलको अहिले सोलिंग गरेर पीपीसी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV