१६ माघ २०७७, शुक्रबार

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले प्रचण्ड–नेपाल पक्ष निर्वाचनसंग तर्सिएको बताउनुभएको छ ।

नेकपा काठमाडौं महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले प्रचण्ड–नेपाल पक्ष निर्वाचनसँग डराएको बताउनुभएको हो ।

उहाँले अहिले प्रचण्ड–नेपाल पक्ष अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरुको हालत खराव हुने तर्क गर्नुभयो । ओलीले देशलाई सांसद किनबेचको थलो बनाउन खोज्नेलाई जनताले सजाय दिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संकटकाललाई देखाउदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै तोकिएको समयमा नै निर्वाचन हुने स्पष्ट पार्नुभयो ।

आफुलाई प्रचण्डले अध्यक्ष बनाएको भ्रम फैलाईएको भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री आफुले बताएको तर्क गर्नुभयो । ओलीले प्रचण्ड–नेपाल पक्षले आफुलाई सरकार र पार्टी सञ्चालनमा अवरोध गरेको र अहिले सो पक्ष अलग्गिएपछि पार्टी नै शुद्ध भएको उहाँले बताउनुभयो ।

त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताउनुभयो । प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक सवैलाई उहाँले आह्वान पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV