१६ माघ २०७७, शुक्रबार

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले न्यायाधीशहरुलाई अदालतप्रति जनताको भरोसा जुटाउने अवसर सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार (आज) प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै नेता सिटौलाले यस्तो आग्रह गर्नुभएको हो ।

विरोध सभामा बोल्दै नेता सिटौलाले अदालतलाई आफ्ना क्षमता प्रकट गरेर ‘संविधानको रक्षा गर्न सक्छ’ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर प्राप्त भएको बताउनुभयो ।

त्यस्तै उहाँले अदालतले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको र उक्त अवसरको सदुपयोग आग्रह गर्नुभयो । यसैबीच उहाँले ‘प्रधानमन्त्रीले चाहेको बेला संसद भंग गर्न नपाओस्’ भनेर नै संविधानको रचना गर्दा धारा ७६ को व्यवस्था गरिएको स्मरणसमेत गर्नुभयो ।

त्यस्तै, उहाँले उपधारा (५) बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत लिन सकेन वा अर्को प्रधानमन्त्री नियुक्त हुन सकेन भने प्रतिनिधिसभा विघटन हुनसक्छ भन्ने उपधारा (७) को आशयलाई अपव्याख्या गर्ने प्रयास भइरहेको भन्दै सचेत पनि गराउनुभएको छ ।

तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV