१६ माघ २०७७, शुक्रबार

काठमाडौं, १६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै माइकलालले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभएको छ ।

काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सो भनाइ सार्वजनिक गर्नुभएको हो ।


‘सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ–गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकिर गर्दै अब मुलुक चुनावमय भैसकेको उहाँको धारणा थियो ।

उहाले यो सरकारले दर्जनौ गौरबका योजना सम्पन्न गर्दापनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउदै अधिकांश आयोजना यही सरकारले पूरा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरु हेर्नुस् रानीपोखरी बन्यो, धरहरा बन्दैछ, देशका दुई ठुला अन्तराष्ट्रिय विमानस्थल तयार भए, पाइपलाइनबाट तेल आउन थालिसक्यो, रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ । ठाउँ ठाउमा सुरुङमार्ग निर्माण भैरहेका छन भन्नुस त यो काम कस्ले ग¥यो ? सबै यही सरकारको प्रगति हो ।’

उहाँले मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहो¥याउनुभयो ।

उहाँले देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्य आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गर्दै उहाले भन्नुभयो, ‘मैले गरेको विकास मेरो पार्टीको लागि मात्रै होइन । सबै जनता सबै पार्टी र मेरो निर्वाचन क्षेत्रको लागि हो ।’

उहाँले करिब साढे २ वर्षको अवधिमा आफूले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौ योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी गराउनुभयो ।

काठमाडौ निर्वाचन क्षेत्र–९ का संघीय सांसद श्रेष्ठले भन्नुभयो, ‘मेरो निर्वाचन क्षेत्रमा सर्वमान्य नेता गणेशमान, मदन भण्डारीको नाममा पार्क निर्माण भैसकेका छन् । जापान सरकारको सहयोगमा ५० वटा साकुराको बिरुवा ल्याएर खाइके–साकुरा पार्क निर्माण भैसकेको छ । कीर्तिपुर–नैकाप जोड्ने पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।’

‘हरेक स्थानमा बाटो पुगेको छ । दहचोकमा कालुपाण्डेको समाधिस्थलमा पार्क निर्माण भैसकेको छ । मेरो क्षेत्रको जनताको सहयोगमा सबै विकास निर्माणको काम सम्पन्न भएको हो’, उहाँले भन्नुभयो ।

उहाले केही महिनाभित्र भीमढुंगा र रामकोट जोडिने झोलुङगे पुल निर्माण अघि बढेको जानकारी गराउनुभयो । गतसाता मन्त्री श्रेष्ठ सहितको प्राविधिक टोली झोलुङगे पुल निर्माण स्थलको अवलोकन गरेको थियो ।

आज आयोजित कार्यत्रममा मन्त्री श्रेष्ठ, काठमाडौ–९का प्रदेश सांसद डा अजयक्रान्ति शाक्यले खानेपानी परियोजनाको शिलान्यास गर्नुभएको थियो । मन्त्री श्रेष्ठले स्थानीय जनताको घरको धारा खोलेर खानेपानीको शुरुवात गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठले स्थानीयवासीको माग अनुसार खानेपानी परियोजना सञ्चालन हुदा आफुलाई खुसी लागेको बताउनुभयो । भन्नुभयो, ‘यो खानेपानीको धारा सबैको लागि हुन्छ, अर्किड कोलोनीका जनताले समेतउपभोग गर्न पाउनेछन ।’

कार्यक्रममा सांसद शाक्यले सबैको सहयोगको कारण महत्वाकांक्षी परियोजना सफल भएको बताउनुभयो । भन्नुभयो, ‘यो कुनै दलले मात्र नभएर सबैको सहयोगको कारण खानेपानी परियोजना सफल भएको हो । यस्मा सबै जनताको साथ र सहयोग छ ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV