१६ माघ २०७७, शुक्रबार
  • इन्दिरा चाम्लिङ

ब्रसेल्स, १६ माघ । यूरोपमा मुख्यतः संसारकै ठूलो बायोटेक फाईजर कम्पनीबाट उत्पादित कोरोना बिरुद्धको भ्याक्सिनको धमाधम वितरण भैरहेको छ । फाइजर खोप एमआरएनए टेक्नोलोजीमा आधारित छ, शरीरलाई आनुवंशिक निर्देशनहरू दिने यो तरिका कोरोनाभाइरस स्पाइक प्रोटीन बनाउन आवश्यक छ।

मानिसको प्रतिरक्षा प्रणालीको एक सुरक्षात्मक प्रतिरक्षा प्रतिक्रियामा योग्य हुने यसकाे खोपको विशेषता हो । फाइजर खोपले एक सम्भावित घातक रोगबाट रक्षा गर्दछ, र यसका प्रमाणित साइड इफेक्टहरू अल्पकालीन र हल्का हुन्छन् । यसकारण पनि फाइजरबाट उत्पादित खोपहरूमा यूरोपका सदस्य राष्ट्रहरूले भरपर्दो प्रयोग मानेका छन् र ईयूको मुख्य प्रमाणीकरण गर्ने प्रयोगशाला द हेग नेदरल्यान्डले पनि यसलाई अनुमति दिएको छ ।

अनुमान गरेअनुसार र माग अनुरुप उत्पादन नहुँदा यूरोपका विभिन्न देशहरूबीच आरोप-प्रत्यारोप पनि भइरहेको छ । यूरोपेली सदस्य राष्ट्रलाई दामाशाही रूपमा पहिलो चरणको वितरणमा धाधली भएको आरोप लगाउँदै हंगेरी लगायत देशले चीनबाट कोरोना खोप किन्ने सम्झौता गरिसकेको छ ।

खोप समयमा र आवश्यक डोज नपाउँदा सदस्य राष्ट्रहरूबीच धनी राष्ट्रले गरिब सदस्य राष्ट्रहरूलाई हेपेको र धनीहरुले मात्र धेरै डोज लगेको आरोप-प्रत्याराेप चलेकाे छ ।

यूरोपका ६ स्वास्थ्य-मन्त्रीहरूको विरोध

यूरोपियन कमिसनलाई युरोपका छ देशहरूले संयुक्त पत्र लेख्दै कोरोना खोप फाईजरको वितरण ढिलाइ र भेदभावपूर्ण भएको जनाएका छन् । उनीहरूले कमिसन मुख्यालय ब्रसेल्सलाई “पारदर्शिता र स्थिरता” सुनिश्चित नगरेको कुरा “अस्वीकार्य” भएको पत्रमा उल्लेख गरेका छन् ।

फाइजर डेनमार्कका प्रवक्ताले यसै हप्ता सो कुराको पुष्टी गर्दै भने कम्पनीले यस बर्षमा दुई अर्ब डोज हासिल गर्ने लक्ष्यका लागि बेल्जियमको प्युर्स स्थित फाईजर प्लान्टमा भएका सुविधाहरू अवलम्बन गर्न आवश्यक छ जसलाई नयाँ गुणस्तर परीक्षण र अधिकारीहरूबाट स्वीकृति आवश्यक छ।

नतिजाका रूपमा, युरोपियन देशहरूका लागि जनवरीको अन्त्यमा र फेब्रुअरीको सुरूमा थोरै मात्र डोज उपलब्ध हुनेछ,” उनले थपे। डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, लाटभिया, लिथुआनिया र स्विडेनका स्वास्थ्य मन्त्रीहरूले युरोपेली आयोगलाई पत्र लेख्दै संयुक्त रूपमा भनेका छन् “यो अवस्था स्वीकार्य छैन।” “यो योजना बनाएको खोप तालिकामा मात्र असर गर्दैन, यसले खोप प्रक्रियाको विश्वसनीयतालाई पनि घटाउँछ,” उनीहरू थपे।

ईयू खोप रोलआउट ‘नैतिक र राजनीतिक न्यायसंगत’ छैन, अल्बानियाका प्रधानमन्त्रीले भने नर्वेको सार्वजनिक स्वास्थ्य संस्थान (एफआईएच) ले एक विज्ञप्तिमा भन्यो कि “यसको मतलब हप्तामा फाइजरले रिपोर्ट गरेको भन्दा ७ हजार ८ सय थोरै डोज पाउनेछौं”।

फ्रान्सले हालसम्म करिब १.५ लाख डोज प्राप्त गरिसकेको छ। यो महिनाको अन्त्य सम्ममा १० लाख खोपहरू उपलब्ध गराउने लक्ष लिएको छ । उक्त असन्तुष्टी संगै ईयु सदस्य राष्ट्रहरूको अपेक्षित वितरणको बारेमा बुझ्न आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले पोर्चुगलको लिस्बनमा पत्रकारहरूलाई “फाइजरका प्रमुखले पहिलो चरणको सम्झौता अनुरूप चाडै खोप उपलब्ध हुने बताए “।

प्रभावकारिता र असरबारे नेपालीको भनाइ

लामो समयदेखि अस्ट्रियामा बसेर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार महासंघ यूरोपका कार्यकारी सदस्य रविचन्द्र भट्टाराईले गत हप्ता कोरोना विरूद्ध बायोटेक फाईजर नामक भ्याक्सिन लगाएका छन् । उनका अनुसार जसको मुल्य करिव २ सय युरो पर्छ । यो भ्याक्सिन अष्ट्रीयन सरकारले निशुल्क उपलव्ध गराएको हो ।

रविचन्द्र भट्टाराई

उनले भने- ‘म अष्ट्रियाको रेलसेवामा काम गर्छु । ग्राहकसंग प्रत्यक्ष सम्पर्कमा रहेर गर्ने काम हो । कम्पनीको तर्फबाट सुई हाल्ने समय आईपुगेको भने थिएन । तर मैले घर नजिकैको एउटा केयर सेन्टरमा विगत केही वर्षदेखि भोलेन्टियरको रुपमा नि:शुल्क सेवा गर्ने गरेको थिएँ । यसर्थ मलाई सरकारले प्राथमिकतामा राख्यो ।

कोरोनाका कारण यो साल त्यो काम गर्न असहज अनुभव भयो । उनीहरुले मलाई सुई हाल्न पाए सजिलो हुने खबर गरेपछि मैले सुइ हाल्न स्वीकार गरी जनवरी १३ मा पहिलो चरणको खोप लगाएको छु अर्को चरणको खोप ३ फेब्रुअरीमा लगाउने पालो छ । केयर सेण्टरमा ८० वर्षभन्दा माथीका वृद्धवृद्धाहरु बस्छन् । सेवा गर्न सजिलो हुने भएर नै मैले सुई लगाएको हो ।’

उनले आफ्नो सुई लगाएको रात राम्ररी निदाउन नसकेकाे पनि बताए ।

‘त्यसै त्यसै अत्यास लाग्यो, निन्द्रै आएन, बजारको हल्ला याद आईरह्यो, भोली बिहान उठ्न नै नपाउने त हैन जस्ता अनेक विषयहरुले मन भरियो,’ उनले थपे, ‘डरैडरमा रात कट्यो । बिहान उढ्दा अनिदोले आँखा सुन्निएका जस्ता भए । सुईको कुनै गलत प्रभाव परेको थिएन तर मनको डरको प्रभाव भने अत्याधिक थियो । नकारात्मक हल्लाका कारण डराएर सुई हाल्न पालो आएकाहरुले मलाई सोधेको सोधै गर्थे, उनीहरुलाई पनि मलाई जस्तो मानसिक रूपमा असर परेको थियो । सुईले स्वास्थ्यमा कुनै पनि नकारात्मक असर नगरेपछि दैनिकी सामान्य हुदै गयो । केही समय मानसिक असर बाहेक कुनै गलत असर परेको छैन ।’

सबिता

बाहिरको हल्लैहल्लाले गर्दा सुई लगाएको रात मनमुटु सबै थरथर भएको उनकाे अनुभव छ ।

त्यसैगरी लामो समयदेखि बेल्जियमको लुभेन क्यासेल्लो सहरमा बसोबास गर्दै आएकी सबिता लुभेन स्थित एक केयर होममा कार्यरत छिन् । उनले जनवरी १८ मा कोरोना विरूद्ध बायोटेक फाईजर खोप लगाइन् ।

उनका अनुसार भ्याक्सन दिनु अगाडि शरीरको तापक्रम जाँचियो र भ्याक्सिनले गर्न सक्ने असरको बारेमा सम्झाइयो । भ्याक्सिन लगाईसकेपछि उनलाई २० मिनेटसम्म एक्लै हुन दिइएन । उनलाई भ्याक्सिन लगाएपछि सामान्य रूपमा पाखुरा चलाउँदा दुख्ने बाहेक कुनै पनि नकारात्मक असर गरेको अनुभव छैन । उनका अनुसार सहकर्मीहरूलाई पनि कुनै असर गरेन ।

उक्त केयरहोममा ७० देखि ९९ वर्ष सम्मका बृद्द, वृद्धारूलाई भ्याक्सिन दिइयो । हालसम्म कसैलाई पनि नकारात्मक असर गरेको छैन । उनको विचारमा मानिसहरू भ्रममा परेका छन् भ्याक्सिनबारे कन्फ्युज भएका छन् र डराएका छन् । वास्तवमै यो भ्याक्सिनसँग डराउनु पर्ने कुनै कारण छैन यो भ्याक्सिन अन्य ग्रीप विरूद्धको भ्याक्सिन जस्तै हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV