१५ माघ २०७७, बिहीबार

काठमाडौं, १५ माघ । मोडलिङको दुनियाँमा आफ्नो फरक पहिचान बनाएकी नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन् ।

हलिउड फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी अञ्जलीको जन्म पुरुषको रुपमा भएको थियो । अहिले उनी महिला बनेकी छन् । तेस्रो लिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नेपालको पहिलो मोडल हुन् ।

नुवाकोटकी लामाले संघर्षका विभिन्न चरण पार गर्दै ६ भागमा निर्माण हुने ‘सेयरिङ अ राइड’ मा अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसको पनि अभिनय रहनेछ ।

डेडलाइनको रिपोर्ट अनुसार यो एक एन्थोलजी फिल्म हुनेछ । जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । लर्वोलिनो इन्टरटेन्मेन्टको को प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने फिल्ममा महिलाको जिन्दगीका अलग–अलग पक्ष देखाइनेछ ।

फिल्ममा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ । ‘ल्याक्मे फेसन शो’मा सहभागिता जनाएपछि विश्वभर नेपालको पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा चर्चा बटुलेकी उनी नेपाली फिल्ममा समेत डेब्यू गर्ने तयारीमा थिइन् ।

निर्माता सुनिल रावलले आफ्नो फिल्म ‘लाउरे’ मा उनलाई अनुबन्ध गरेका थिए । तर, यो फिल्म निर्माणकै क्रममा रोकियो । तीन वर्ष अगाडि उनको जीवनमा आधारित एक डकुमेन्ट्री समेत निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV