१५ माघ २०७७, बिहीबार

काठमाडौं, १५ माघ । आजबाट माघ महात्मे अन्तर्गत श्री स्वस्थानी व्रतकथाको प्रारम्भ भएको छ । अष्ट मातृका अर्थात आठवटा देवीको बिचमा रहेकी स्वस्थानीको महिमा अपरम्पार रहेको जनविश्वास छ ।

अष्ट मातृकाको नेपाली जनजिवनमा अत्यन्त धेरै महत्व रहेको छ । जस्तै दौरा सुरुवालमा भएको आठवटा गाँठो यिनै अष्ट मातृकाको प्रतिकका रुपमा लिईन्छ । आठ अङ्क शुभ अङ्ककारुपमा लिईने पनि गरिन्छ । आराध्य देव भगवान शिवजीको महिमा रहने स्वास्थानी ब्रतमा हिन्दू धर्मालम्बी नेपालीहरुले विशेष पूजा गर्ने गर्छन ।

पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दु परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं, केश काटेर परिवारका सबै सदस्यहरु एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा हरेक दिन एक वा एक भन्दा बढि कथाका अध्यायहरू क्रमशः सुनाउने चलन छ ।

प्रसादका रुपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, पोलेको आलु, सुन्तलाका केस्रा खाने गरिन्छ । पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्याय अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।

साँखु शाली नदीमा माधवनारायण मेला

यस अवसरमा आजैदेखि एक महीनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघस्नानसहित माधवनारायणको मेला शुरु भएको छ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल भएकाे छैन ।

‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखाली पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्’, इतिहासकार श्रेष्ठले भन्नुभयो ।

यस वर्ष कोरोना महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ । व्रतालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष मीजेन्दकाजी श्रेष्ठले यस वर्ष माघ १५ गतेदेखि फागुन १५ गतेसम्म मेला लाग्ने बताउनुभयो ।

विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितार्थ राखिने जनाइएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ यसपटक व्रतमा सहभागी भई परम्परादेखि संस्कृति संरक्षण गर्नेछन् । विगत वर्षमा जस्तो मेला भने यसपटक नलाग्ने समितिले जनाएको छ ।

व्रतालु आज बेलुकीदेखि नै साँखुमा वास बस्न आउँछन् । बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुन्छ । कोरोनाका कारण यस वर्ष वर्तालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV