१४ माघ २०७७, बुधबार

काठमाडौं, १४ माघ । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिनुभएको छ ।सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उहाँको उपचार प्रबन्धबारे समेत अस्पतालका अधिकारीसँग छलफल गर्नुभएको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

टोलीले उहाँलाई स्वास्थ्यको ख्याल गरी अनसन तोड्न आग्रह गर्दै मागका विषयमा कानूनअनुसार आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको लामिछानेले जानकारी दिनुभयो । टोलीमा काठमाडौँका प्रमखु जिल्ला अधिकारी कालिप्रसाद पराजुली र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकोसमेत सहभागिता थियो ।

द्वन्द्वका समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको भन्दै दोषीलाई कारवाहीको मागसहित उहाँ लामो समयदेखि अनशनरत हुनुहुन्छ । अनशनकै क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि अहिले उहाँ उपचाररत हुनुहुन्छ । उहाँका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV