१४ माघ २०७७, बुधबार

काठमाडौं, १४ माघ । ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको छ । बुधबार वनमन्त्री प्रेमबहादुर आलेले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उक्त कार्यविधि खारेज भएको जानकारी दिनुभएको हो ।

वनसम्बन्धी उच्चस्तरीय छानविन समितिको प्रतिवेदन अनुसार नै बैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको उहाँले बताउनुभयो । आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरी दिगो वन व्यवस्थापनमार्फत वनजन्य स्रोतको उपयोग गरिने बताउनुभयो ।


मन्त्रिपरिषद्को माघ ११ गतेको बैठकले सो कार्यक्रम खारेज गर्ने मन्त्रालयको प्रस्ताव पारित गरेको थियो । साथै वैज्ञानिक वनको कार्यक्रम आगामी दिनमा दिगो व्यवस्थापनमार्फत कार्ययोजना बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको मन्त्री आलेको भनाइ थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णयपछि वैज्ञानिक वन कार्यक्रमबाहेकका सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट प्रक्रिया पु¥याएर खुल्ने उहाँले बताउनुभयो ।

एक फरक प्रसङ्गमा मन्त्री आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता नभई रुख कटान नहुने प्रष्ट पार्नुभयो ।

यसैगरी मन्त्रालयले प्रधानमन्त्री जडीबुटी तथा प्रशोधन कार्यक्रम, पशुपति आर्यघाटमा निःशुल्क दाउराको व्यवस्था, जीवजन्तु बृहत् उद्यान बनाउने र सातै प्रदेशमा चिडियाखाना स्थापना घोषणाबारे छलफल चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV