१४ माघ २०७७, बुधबार

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको छ ।

बुधबार ललितपुरमा गौतमले पार्टी पुनः एकीकरणको दुई चरणको योजना सहित पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्नुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि पहिलो चरण र दोस्रो चरणको कार्यक्रम सर्वोच्चको फैसला आएपछि सुरु हुने पार्टी एकीकरण सम्बन्धी गौतमले तयार पारेको अवधारणापत्रमा उल्लेख छ ।

एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काउने दाबी गर्नुभयो । गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने समेत उल्लेख गर्नुभयो ।

नेता गौतमले वैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले आफू बाँच्दासम्म कम्युनिष्ट पार्टीलाई एकवद्धता गर्ने र सानै भएपनि समाजवादको विरुवा रोप्ने इच्छा रहेको बताउनुभयो ।

प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने गौतमको अवधारणापत्रमा उल्लेख छ । त्यस्तै, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने गौतमको अवधारणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV