नेपाल ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु



प्रकाशित मिति : Jan 26, 2021

काठमाडौं, १३ माघ । कोटेश्वर तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, काभ्रेस्थली तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल र मोर्निङ ग्लोरी स्कुलको संयुक्त आयोजनामा प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिता मंगलबारदेखि कोटश्वर तेक्वान्दो डोजाङमा सुरु भएको छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य मानदेव हजरा, ओलम्पियनद्वय संगिना वैद्य, दीपक विष्ट, १३ औं सागका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा पुम्से, हाइ स्पिड किक र पारा तेक्वान्दोमा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । हाइ स्पिड स्पर्धाको प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

पुम्मेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् । प्रतियोगितामा विभिन्न ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका सचिव अशोक खड्काले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट पुरुष÷महिला खेलाडीले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । मोस्ट पपुलर प्लेयर खेलाडीलाई १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ । यो विधाको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिने छ ।

५ नेपाली र ७ विदेशी गरी १२ अन्तर्राष्ट्रिय निर्णायकले प्रतियोगिता सञ्चालन गरिरहेका छन् । उद्घाटनका अवसरमा पाँच नेपाली अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामा, अशोक खड्का, मिन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गीलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com