१३ माघ २०७७, मंगलवार

काठमाडौं, १३ माघ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा हिउँद याममा आरोहण गर्दै कीर्तिमान कायम गरेका निर्मल पूर्जासहित नेपाली आरोहीहरुको टोलीलाई सरकारले सम्मान गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोही टोलीलाई सम्मान गर्नुभएको हो । निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटू आरोहण गरेर मंगलबार नै स्वदेश फर्केको हो ।

सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै उहाले अब राज्यले साहसी आरोहीलाई अवार्ड दिने घोषणा गर्नुभयो । हिमाल आरोहणको अनुभवलाई सामान्य रुपमा लिन नहुने भन्दै आरोहीबाट सबैले प्रेरणा लिनसक्ने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले माउन्ट केटु आरोहणमा आफूलाई मन लागेको तर त्यो दुस्साहस आफूले नगरेको धारणा राख्नुभयो ।

केटु हिमाल आरोही टिमको नेतृत्व गरेका निर्मल पुर्जाले नेपालको नाम विश्वमा चिनाउने उदेश्यका साथ हिमाल आरोहणमा गएको बताउनुभयो । उहाँले आरोहण टोलीलाई राज्यले उचित सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

यसअघि स्वदेश फर्के लगतै आरोहण टोलीलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाले उपत्यकाका बिभिन्न स्थानको परिक्रमा गराएको थियो ।

म्याग्दीका पुर्जासहित नेपाली आरोही टोलीले माघ ३ गते दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल मा पाइला राख्न सफल भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV