१३ माघ २०७७, मंगलवार
  • केदार शर्मा

चितवन, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु खम्बा सिंह कुँवर (काजी)को ९५ वर्षको उमेरमा निधन भएको छ ।

चितवनको भरतपुरमा रहेको भरतपुर सङ्घीय अस्पतालमा उपचारका क्रममा कुँवरको आज बिहान निधन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयाे ।

कुँवर लामो समयदेखि प्रेसर, सुगरलगायतको दीर्घ रोगबाट पीडित हुनुहुन्थ्याे । उहाँ पछिल्लो समय निमोनिया र दुवै मृगाैलाले काम नगरेपछि अस्पताल भर्ना हुनुभएकाे थियाे ।

कुँवरलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि अध्यक्ष पुष्पकमल दाहाल चितवन आउने कार्यक्रम छ । उहाँलाई पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएपछि आजै देवघाटमा दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

कुँवरकाे जीवनयात्रा 

विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो । विसं २०१५ मा चितवन झर्नु भएका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सुम्पिनु भएको थियो ।

उहाँलाई विसं २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो । यस्तै विसं २०६९ मा नेपाल सरकारले उहाँलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो । जीविकोपार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सङ्गतमा परेपछि उहाँ नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिनुभएको थियो ।

विसं २०१४ मा नन्सेन्टर जिल्ला कमिटीको नेतृत्वमा रहनुभएका उहाँ त्यसपछि मोहनविक्रम सिंह, शम्भुराम, मनमोहन अधिकारी निर्मल लामालगायतका नेतासँगै न्यूक्लियस सङ्गठन गरेर सङ्गठन विस्तारमा लागेको उहाँ जीवितहुँदै राससलाई बताउनुभएको थियो ।

विसं २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य रहनुभएका उहाँले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । विसं २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो । त्यसका प्रशिक्षक कुँवर हुनुहुन्थ्यो । प्रशिक्षार्थीमध्ये एक हुनुहुन्थ्यो ‘प्रचण्ड’ । त्यही प्रशिक्षणबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर दाहाल दीर्घकालीन कार्यकर्ता हुनुभएको बताइन्छ ।

विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहनुभएका खम्बासिंह जनयुद्धकालमा भूमिगत हुनुहुन्थ्यो । हाल उहाँ पार्टीको केन्द्रीय सल्लाहकार रहनुुभएको जिल्ला अध्यक्ष परियारले जानकारी दिनुभयो । उहाँका एक छोरा र चार छोरी हुनुहुन्छ । उहाँ परिवारका सदस्यसँग भरतपुर महानगरपालिका–१० मा बस्दै आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV