१२ माघ २०७७, सोमबार
  • भगतराम थारु

नेपालगन्ज,  १२ माघ । नेपाल-भारत जुमनाहा नाका हुँदै भारतको रुपैडिहा बजार जाने नेपाली उपभोक्तहरु बढेका छन् । भन्सार नाका केही खुकुलो भएसँगै नेपाली उपभोक्ताहरुको आवतजावत बढेको हो ।

नेपालगन्ज नाका भएर आउजाउ गर्न केही सहज भएसँगै नेपाल भारत नाकामा आवतजावत बढि भएको छ । कोरोना संक्रमण दर घट्दै गएपछि नेपाल र भारतका सुरक्षाकर्मीले सर्वसाधारणलाई सहज रुपमा आउजाउ गर्न दिएका हुन् । भारतीय पक्षले दुई महिनाअघि देखि नै आउजाउमा खुकुलो गरे पनि नेपाली पक्षले १ माघदेखि केहि खुकुलो गरेको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु गिरिले बताउनुभयो ।

उहाँले किनमेल र औषधि उपचारका लागि भारत जान छुट दिएको बताउनुभयो । तर, सीमानाका खुलेको औपचारिक पत्र आएको छैन । ‘ब्यवहारिक रुपमा किनमेल र उपचारका लागि जानेहरुलाई केहि सजिलो बनाई दिएका छौँ,’ उहाँले भन्नुभयो ‘नाका पूर्ण रुपमा खुलेको भन्न मिल्दैन, तर पहिलेको भन्दा केहि सहज चाहि पक्कै छ ।’

पछिल्लो समय भारत आउजाउ गर्न कुनै समस्या नभएको नेपालगन्ज उपपमहानगरपालिका-७ का मोइनुद्दिन खानले बताउनुभयो । उहाँले भारत जान कुनै रोकतोक नभएको बताउनुभयो । ‘लकडाउन हटे पनि भारत जान ठूलो संघर्ष गर्न पथ्र्यो । दिनभर लाइन लागेर पनि भारत जान पाइदैन्थ्यो । अहिले आउजाउमा कुनै रोकतोक छैन,’ उहाँले भन्नुभयो ।
नेपालगन्ज नाका खुकुलो भएपछि किनमेलका लागि सीमाबर्ती भारतीय बजारमा जानेको भीड लागेको छ । हरेक दिन झण्डै पाँच हजार सर्वसाधारण किनमेलका लागि भारत प्रस्थान गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख गिरिले बताउनुभयो ।

नमेलका लागि सीमावर्ती भारतीय बजार रुपइडिहा जाने र नेपालगन्ज आउनेलाई मोटरसाइकल ल्याउन-लैजान दिइदैन । किनमेलका लागि रुपईडिहा जानेहरुको मोटरसाइकलले जमुनाह भरिने गरेको छ । ‘सोमवार मात्र तीन हजार भन्दा धेरै मोटरसाइकल जमुनाह बजारमा पार्किङ गरिएको थियो । पैदल, साइकल, रिक्सा र गाडीमा आउनेको संख्या पनि उस्तै थियो,’ होटल ब्यवसायी संघ, नेपालगन्जका बरिष्ठ उपाध्यक्ष रामबहादुर लिम्बुले भन्नुभयो , नेपाल आउने भन्दा किनमेलका लागि भारत जानेको संख्या धेरै थियो ।’

नाका खुकुलो भएपछि मजदुरीका लागि नेपालगन्ज आउने भारतीयको संख्या पनि बढेको छ । भारतीयहरु मजदुरीका लागि साइकलमा नेपालगन्ज आउने गरेका छन् । मजदुरीका लागि नेपालगन्ज आउन सहज भएको नेपालगन्जमा भेटिएका रुपइडिहाका एक भारतीय नागरिकले बताउनुभयो । ‘पछिल्लो समय मजदुरीका लागि नेपालगन्ज आउन कुनै रोकतोक छैन । सुरक्षाकर्मीले सोधपुछ गरेर सहजै आउजाउ गर्न दिन्छन् ।’

साइकलमा आएका मजदुर बेलुकी भारत फर्किने गरेको जमुनाह प्रहरी इन्चार्ज गिरिले बताउनुभयो । ‘दिनभर काम गरेर बेलुकी आफ्नो घर फर्किन्छन्,’ उहाँले भन्नुभयो ।
नाका बन्द गर्नुको कुनै औचित्य नभएको भन्दै राजनीतिक दल र नागरिक समाजले नाका खोल्न माग गरेका छन् । जनता समाजबादी पार्टी, बाँकेले नाका खोल्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नाका बन्द गर्नुको कुनै औचित्य नभएको ठहर गरि नाका खोल्न माग गरेको जनता समाजबादी पार्टीका नेता रामकुमार दिक्षितले बताउनुभयो ।

उहाँले नाका बन्द गरेर राज्यले जनतालाई दुख दिएको बताउनुभयो । कोरोनाको नाममा सरकारले नेपाल(भारत नाका बन्द गरेर नेपाली जनतालाई दुख दिने काममात्र गरेको छ । नाका बन्द गर्नुको कुनै औचित्य छैन । नाका खोलेर आउजाउ सहज बनाउनु पर्छ,’ उहाँले भन्नुभयो ।


जिल्ला विकास समिति, बाँकेका पूर्व सभापति पशुपतिदयाल मिश्रले पनि नाका बन्द गर्नुको कुनै औचित्य नभएको बताउनुभयो । उहाँले सरकारको निर्णय अनुसार २९ पुसपछि नाका स्वतः खुलेको बताउनुभयो । ‘सरकारको तर्फबाट नाका खुल्ला भइसक्यो । तै पनि सहज रुपमा आउजाउ गर्न दिइएको छैन । नाका खोलेर सहज रुपमा आउजाउ गर्ने बातावरण सरकारले मिलाउनु पर्यो,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV