१२ माघ २०७७, सोमबार

काठमाडौं, १२ माघ । संसद विघटनकाे प्रतिगामी  कदमविरुद्ध नागरिक अगुवाहरूले ‘मार्च पास’सहित प्रदर्शन गरेका छन् ।  कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताहरुले सरकारको प्रतिगमनविरुद्ध मार्च पास गरेका हुन् । तर उनीहरूकाे शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

उनीहरु प्रदर्शन गर्दै बालुवाटार पुगेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीकाे फोहोराले हानेको थियो ।  प्रहरीले उनीहरुमाथि निषेधित क्षेत्रमा प्रदर्शनका साथै र नाराबाजी गरेका कारण हस्तक्षेप गरेको हो । प्रदर्शनमा कमलपोखरी बचाउ अभियानका अभियन्ताहरु समेत सहभागी थिए ।

उनीहरुले मुलुकलाई न्यायपूर्ण बाटोमा हिडाउन सबै नागरिकको जिम्मेवारी भएको बताएका छन् । प्रदर्शनमा सहभागी लेखक नारायण वाग्लेले भद्र आन्दोलनमा प्रहरीले दमन गर्नु उचित नभएको टिप्पणी गर्नुभएको छ । उहाँले आफूहरमाथि विना सुचना प्रहरीले बल प्रयाेग गरेकाे भन्दै अब तेस्राे जनआन्दाेलन सुरू भएकाे बताए ।

कमलपाेखरीमा पनि उनीहरूले प्रदर्शन गरेका थिए । सम्पदा मास्न नपाइने भन्दै कमलपाेखरीकाे माटाै निधारमा टाँसेर अभियन्ताहरूकाे बालुवाटारतर्फ लागेका थिए । उनीहरूले विभिन्न कार्टुन, प्ले कार्ड र कालाे रिबन बाँधेर प्रदर्शन गरेका हुन् ।

तस्वीर : महेश्वर केसी/न्यूज २४

प्रतिक्रिया दिनुहोस्

LIVE TV