१२ माघ २०७७, सोमबार
  • प्रकाश न्यौपाने

भैरहवा, १२ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले निर्वाचनमा दुई तिहाई भोट ल्याउने प्रधानमन्त्रीको दाबी प्रहसन मात्र भएको बताउनुभएको छ ।

सोमबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लवले आयोजना गरेको पत्रकार भेटघाटमा नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको नौटंकीले चुनाव नहुने निश्चित भएको दाबी गर्नुभयो । उहाँले संविधान च्यातेर, लोकतन्त्र घाइते र असफल पारेर निर्वाचन हुनै नसक्ने बताउनुभयो ।

भुसालले अहिले सर्वोच्च अदालतमा भइरहेको बहस, संविधान निर्माण गर्दाका तथ्य प्रमाणले पनि संसद जिवितै छ भन्ने पुष्टि भएको बताउँदै ढिलोमा तीन महिनाभित्रै संसद बैठक बस्ने दावी गर्नुभयो । उहाँले संविधाको मर्म र भावनामाथि प्रहार गरेर लोकतन्त्र बलियो नहुने जनाउनुभयो । नेता भुसालले निर्वाचन आयोगले पार्टी विवादसम्बन्धी कुनै पनि निर्णय गर्न नसक्नु उसको कमजोरी भएको बताउँदै आयोगले निर्णय गर्न नसक्नुको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो ।

उहाँले बहुमत केन्द्रिय सदस्य भएको प्रचण्ड–नेपाल समूहको नेकपा नै आधिकारिक भएको दावी गर्नुभयो । उहाँले आयोगले नेकपाको केन्द्रिय समिति ४ सय ४१ सदस्यीय रहेको पुष्टी गर्नुले नै आफूहरु आधिकारिक भएको प्रष्ट भएको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV