११ माघ २०७७, आईतवार
  • दान बहादुर बुढा,

मुगु, ११ माघ । जिल्लाको छायानाथ रारा नगरपालिकाले पहिलो पटक ‘नगर आइडल’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाले स्थानीय कला, संस्कृतिलाई प्रबद्र्धन तथा सम्वद्र्धन गर्ने उदेश्यका साथ ‘नगर आइडल’ सञ्चालन गर्न लागेको हो ।

शनिवार (हिजो) पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराइएको हो । पछिल्लो समय ग्रामीण क्षेत्रमा गाइने देउडा गीतहरु हराउदै गएको हुदा आफ्नो कला संस्कृतिलाई बचाई राख्न नगरपालिकाले ‘नगर आइडल’को आयोजना गर्न लागेको जनाएको छ ।

छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले भने, ‘हाम्रा ग्रामीण क्षेत्रमा गाइने, डेउडा, मागल, चुट्किला, झोडा, बालो, चुम्फालगायतका स्थानीय गीतहरु पछिल्लो समय मुस्किलले सुन्न पाइन्छ । त्यसैले अब त्यस्तो नहोस् भन्नका लागि ‘प्रथम नगर आइडल’ गर्न लागिएकोे हो ।’

उनका अनुसार प्रथम नगर आइडल यही माघ महिनाको १५ गतेबाट सुरु भई बैशाख महिनाको मेयर कपसम्म सञ्चालन हुनेछ ।

उक्त नगर आइडलमा भाग लिनका लागि हालसम्म ४२ जनाले नाम दर्ता गराएका छन् । आइडल विजेतालाई नगद ३० हजार, दोश्रोलाई २० हजार, तेश्रोलाई १० हजार र सान्वतनालाई ५ हजारको नगद पुरस्कार प्रदान गरिने छ ।

साथै प्रथम हुनेलाई छायानाथ रारा नगरपालिकाले देउडा गीत रेकर्डिङको व्यवस्था गरिदिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV