११ माघ २०७७, आईतवार
  • तारा आचार्य,

विराटनगर, ११ माघ । प्रदेश नं. १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जनताको आशा र भरोसाको केन्द्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो जिम्मेवारी र कर्तव्य चुस्तदुरुस्त रुपमा निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आइतबार (आज) विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरी प्रमुख सहसचिव प्रकाश पौडेलले प्रदेश प्रमुख प्यासीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा अख्तियारका इटहरी प्रमुख प्रकाश पौडेलले इटहरी कार्यालयले गरेका काम, उजुरी र गुनासोको प्रकृति, उजुरी फछ्र्यौटको अवस्था र सुझावहरु जानकारी गराएका थिए ।

अख्तियारको प्रतिवेदनमा सबैभन्दा बढी स्थानीय तहमा करीब ३० प्रतिशत उजुरी परेको छ, भने त्यसपछि शिक्षा, भूमि प्रशासन, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, गृह प्रशासन, भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिचाई र अर्थमा उजुरी परेको उल्लेख छ ।

नक्कली शैक्षिक प्रमाण–पत्रमा करिब ८ प्रतिशत र गैरकानूनी सम्पत्ति आर्जनमा करीब साढे ६ प्रतिशत उजुरी परेको छ । उजुरीको संख्याका हिसाबले सबैभन्दा बढी प्रदेश नं. २ रहेको छ भने प्रदेश नं. १ चौथोमा पर्दछ ।

प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएको प्रतिवेदन आवश्यक अध्ययनपछि प्रदेश सरकारमार्फत प्रदेश नं. १ को प्रदेश सभामा पेश गरिने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV