११ माघ २०७७, आईतवार

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको दाबी गर्नुभएको छ । आइतबार (आज) काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको समस्या र सवालमा प्रधानमन्त्रीसँग साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले यस्तो दाबी गर्नुभएको हो ।

त्यस्तै, उहाँले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरू नै संविधानविरोधी भएका आरोप समेत लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘संसद् विघटन भएको भनेर केही मान्छेहरू कराइरहेका छन् । उनीहरू संविधानविरोधी, लोकतन्त्रविरोधी, देश र जनविरोधी हुन् ।’

यसैबीच उहाँले संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्ने गरेको पनि बताउनुभयो । दाहाल–नेपाललगायतका नेताहरूप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘जो कराइरहेका छन् । अस्तव्यस्तता खडा गर्ने, स्थिरता हुन नदिने उनीहरूलाई म भन्न चाहन्छु, यो स्थायी जागिर होइन ।’

त्यस्तै उहाँले स्थिरतालाई भत्काएर अस्थिरतातर्फ मुलुकलाई धकल्न खोजेपछि जनताकै बीचमा जाने निर्णय गरेकोले आफू तानाशाही नभएको पनि तर्क गर्नुभएको छ ।

तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV