११ माघ २०७७, आईतवार

एजेन्सी, ११ माघ । रूसका विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा हजारौँको सहभागितामा प्रदर्शन भएको छ । हाल रूसी जेलमा रहेका विद्रोही नेता नाभाल्नीलाइ रिहा गर्न माग गर्दै प्रदर्शन गरिएकाे हाे । प्रदर्शन चर्किएपछि रूसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ ।

बिबिसीका अनुसार नाभाल्नीका कयौँ निकटस्थहरूलाई प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ । गत आइतवार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् ।नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० शहरमा भएको बताइएको छ ।

नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुन् । उनी भ्रष्टाचार विरोधी अभियानकर्ता मानिन्छन् । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएकाे थिएन ।

नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भए । गत अगस्टमा ४४ वर्षीय नभाल्नीलाई स्नायु विषको हमला भयो। त्यसका लागि उनले पुटिनलाई दोषी मान्छन् ।

पछि उनको उपचारका लागि परिवारको आग्रहमा जर्मनीले इच्छा देखाएपछि गत अगस्टमा बर्लिन लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको खानामा बेहोस पार्ने सोभियतकालीन रसायन नोभिचोकको प्रयोग गरिएको दावी जर्मन ल्याबहरूले दावी गरेका छन् ।

करिब पाँच महिनाको जर्मनी बसाई र उपचारपछि उनी बर्लिनबाट नियमित उडानमार्फत् गत हप्ता रूसी राजधानी मस्को फिर्ता भएका थिए । तर मस्काे उत्रिनेबित्तिकै उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV