१० माघ २०७७, शनिबार
  • रिया भण्डारी,

काठमाडौं, १० माघ । बिहीबार नेपाल आइपुगेको कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियानको आरम्भ माघको दोस्रो साताबाट सुरु हुने भएको छ । सरकारले सातवटै प्रदेशमा खोप लगाउने अभियानलाई व्यवस्थित गर्न प्रदेश स्तरको व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड विरुद्धको खोप माघ दोस्रो साताबाट लगाउने अभियान आरम्भ गर्ने भएको छ । कोरोना खोप अभियानको तयारी गर्दै व्यवस्थापनमा प्रदेश स्तरको लागि ७ जना संयोजक समेत तोकिएको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा करिब ४ लाख ५० हजार फ्रन्टलाइनरहरुलाई खोप लगाउने र अर्को चरणको खोप ल्याउने प्रयासमा पनि सरकार लागिपरेको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै जानकारी दिइसक्नु भएको छ ।

भारत सरकारले नेपाललाई उपल्क्ब्ध गराएको १० लाख डोज कोभिड खोप अहिले टेकुस्थित केन्द्रीय भण्डारण केन्द्रमा राखिएको छ । खोप लगाउने व्यक्तिहरुको जिल्लागत विवरण यकिन गर्दै उक्त खोप् प्रदेश प्रदेश पठाउने मन्त्रालयको तयारी भैरहेको छ ।

पहिलो चरणमा उपत्यकामा १० केन्द्रीय अस्पताल, सात प्रदेश र ७७ जिल्लामा करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने छ । माघ १४ देखि १८ गते भित्र खोप अभियान सुरु गरिसक्ने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनु भएको छ । देशभर दैनिक ३० हजारलाई खोप दिइने तयारी छ ।

स्वास्थ्यकर्मी सुरक्षाकर्मी लगायतलाई लगाएर बाँकी भएको खोप ६० बर्ष माथिका वृद्धवृद्धालाई दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल विश्वमा उपलब्ध कोरोना बिरुद्रको खोप १४ बर्ष मुनिका बालबालिकामा परीक्षण नभएको र बालबालिका कोरोना जोखिम समूहमा नपर्ने भएकाले १४ बर्ष मुनिकालाई कोरोना खोप दिइने छैन ।

खोप लगाएको केही हप्तापछि मात्र शरीरमा एन्टीबडी बन्ने हुँदा कोरोना बिरुद्रको खोप अभियान सुरु भए पनि मास्क लगाउने, सामाजिक दूरी, सरसफाइ र खानेकुरामा ध्यान दिन बिज्ञहरुले सुझाव दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV