१० माघ २०७७, शनिबार
  • अमर काफ्ले

इनरुवा, १० माघ । इनरुवाका विद्यार्थीसंग मेयर राजन मेहताले अन्तरकृया गरेका छन् । नगर प्रमुख मेहताले उच्च शिक्षा अध्ययनरत विद्यार्थीसंग अन्तरकृया गरेका हुन् ।इनरुवा इभेन्ट म्यानेजमेन्टको संयोजनमा नगरपालिकाको कार्यालयले सो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा इनरुवा क्षेत्रमा रहेका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरु सहभागी बनेको कार्यक्रम संयोजक राकेश निरौलाले बताए ।आयोजकले अन्तरक्रिया कार्यक्रमलाई विद्यार्थीको गुनासो, जिज्ञासा र समाधानको पाटो पहिल्याउने उद्देश्य अनुरुप संचालनमा ल्याएको थियो । अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थीहरुको सवाल उपर नगर प्रमुख राजन मेहताले जवाफ दिएका थिए ।

मेयर मेहतालाई प्रश्न गर्ने अधिकांश विद्यार्थीले युवाको क्षेत्रमा नगरमा भएका गतिविधि र आगामी योजना बारे सोधेका थिए । उनीहरुले युवा लक्षित थप प्रभावकारी कार्यक्रमको खाँचो औल्याए । खेलकुदको क्षेत्रमा एक पछि अर्को कार्यक्रममा लाखौं बजेट सक्ने नगरले त्यसबाट के पायो र कत्तिका खेलाडी उत्पादन भए जस्ता प्रश्न विद्यार्थीले नगर प्रमुख सामू राखेका थिए ।

नगर प्रमुखले सोधिएका प्रश्नको जवाफ दिदै नगरको पहिचान सहित समग्र विकासमा टेवा पुग्ने खालका काम भएको भन्दै उदाहरण पेश गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले मेयरलाई नगर भित्रै राम्रो कलेज अभावमा उच्च शिक्षाको लागि बाहिरिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य कैले हुन्छ भनेर समेत सोधेका थिए ।

जवाफमा मेयरले इनरुवामै साइन्ससहित अन्य विषय पढाई हुने स्रोत, साधन र पूर्वाधार सम्पन्न कलेज निर्माणको पहल भैरहेको बताए । उनले नगरबाट बाहिर गइ अध्ययन गर्दै आएका विद्यार्थीहरुको हकमा सम्वन्धित कलेजबाट उपलब्ध हुन सक्ने सेवा, सुविधाको बारेमा पहल थालिएको बताए ।

नगर प्रमुख मेहताले उच्च शिक्षा अध्ययनका दौरान नगरबाट बाहिरिने विद्यार्थी मध्ये उत्कृष्ठताको आधारमा प्रत्येक कलेजले केही कोटा निःशुल्क उपलब्ध गराउनु पर्ने माग समेत अघि सारिएको बताए । सो सम्वन्धमा सबै कलेजका व्यवस्थापक सम्मिलित भेला छिट्टै डाकिने भनाई मेयरले विद्यार्थीहरु माझ राखे ।

मेयर मेहताले नगरको भविश्य युवाको हातमा रहेको भन्दै सल्लाह र सुझावको खाँचो औल्याए । उनले युवासंग सहकार्यका साथ हातेमालो गरी अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV