१० माघ २०७७, शनिबार
  • रामगोपाल तमखु,

भक्तपुर, १० माघ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २२ औं साधारण सभाको अवसरमा जिल्लाका दुई जना अग्रज पत्रकारहरुलाई सम्मान गरिएको छ ।

आज सम्पन्न भएको साधारण सभामा भक्तपुरका बरिष्ठ पत्रकारद्वय कविर राणा र राष्ट्रिय रत्नकृष्ण श्रेष्ठलाई सम्मानित गरिएको हो ।

वरिष्ठ पत्रकार राणालाई भगवान दास महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट नगद रु.१० हजार रुपैयाँ, दोसला ओढाई समानपत्र सहित सम्मान गरिएको हो, भने अर्का बरिष्ठ पत्रकार श्रेष्ठलाई मैंयादेवी स्मृति पत्रकारिकता पुरस्कारबाट नगद २ हजार ३ सय रुपैयाँ तथा दोसला ओढाई समान–पत्रसहित सम्मान गरिएको हो ।

पत्रकारद्वयलाई कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले सम्मान गरेका हुन । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष विरहीले सरकारको पछिल्लो कदमले लोकतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता धरापमा परेको बताए ।

यसलाई जोगाउन पत्रकारहरु चनाखो भएर लाग्नुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष दिलिप थापामगरले संविधानको प्रस्तावनामै ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको कदम मान्य नहुने बताए ।

त्यस्तै महासंघका महासचिव रमेश विष्ट महासंघको संस्थागत हित तथा पत्रकारको हकहितको लागि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रममा साधारण सभाको बन्दसत्रमा शाखाका सचिव कृष्ण प्रसाद नेपालले प्रस्तुत गरेका प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहन बल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्व सम्मतिले पारित गरेको छ ।

कार्यक्रममा महासंघका उपत्यका प्रदेश सचिव अमर भूजु, संस्थापक अध्यक्ष रमेश खड्का र विकल श्रेष्ठ, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा, जिल्ला स्थित सक्रिय विभिन्न पत्रकार संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, महासंघका केन्द्रीय तथा प्रदेश पार्षद लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको बन्दसत्रले महासंघको संस्थागत विकास र पत्रकारको हकहित र मर्यादित पत्रकारीताका लागि भावी कार्यदिशा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV