९ माघ २०७७, शुक्रबार
  • प्रशान्त ठाकुर,

काठमाडौं, ९ माघ । नेकपा विभाजन पछि एक अर्कालाई खुइल्याउने परिपाटी तीब्र बनेको छ । अहिले दुवै पक्षले आयोजना गर्ने कार्यक्रमका मञ्चहरु यसका लागि भरपूर उपयोग हुन थालेका छन् ।

शुक्रबार नेकपा दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तीरमाथि तीर प्रहार गर्दा उता ओलीले पनि ‘खुट्टी देखेर पत्याए’ भन्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले उतारेको भीडलाई उडाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल पक्षले काठमाडौंमा शुक्रबार काठमाडौंबाट शक्ति प्रदर्शन गर्दै केपी ओलीलाई चुनौती दिएका छन् । उत्ता केपी ओलीले अर्को पक्षले गरेको शक्ति प्रदर्शनमाथि व्यङय गरेका छन् ।

यसरी काठमाडौको मौसम चिसो भएपनि राजनीतिक सरगर्मीको पारा भने तातिएको छ । शुक्रबार नेकपा दाहाल–नेपाल पक्षले गरेको शक्ति प्रदर्शनका कारण काठमाडौंका अधिकांश सडकहरु अस्तव्यस्त बने ।

प्रदर्शनमा भएको सहभागितालाई देखेर शीर्ष नेताहरुको अनुहारमा उज्यालो थियो, पार्टीको वरिष्ठ नेता झलनाथ खनालले उत्साहित हुँदै प्रधानमन्त्रीलाई सडकमा हेर्न चुनौती समेत दिए ।

पार्टी अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतदेखि निर्वाचन आयोगसम्मलाई जनताको शक्तितर्फ ध्यान दिन आग्रह गरे । यति मात्र नभइ उनले शुक्रबारको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीकै शैलीमा उखान टुक्काको प्रयोग समेत गरे ।

यता प्रधानमन्त्री ओलीले विपक्षीलाई कटाक्ष गर्ने आफनो शैलीलाई निरन्तरता दिदैँ उस्तै ओठेपारामा जवाफ फर्काए । उनले काठमार्डौंमा केही मानिसको भीड जम्मा गरेछन् भन्दै ‘खुट्टी देखेर पत्याए’ भन्दै व्यंग कसे ।

साथै प्रधानमन्त्री ओलीले आफ्नो पक्षले पनि शक्ति प्रदर्शन गर्न सडकमा उतार्ने घोषणा समेत गर्न भ्याए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV