९ माघ २०७७, शुक्रबार
  • नन्दराम खड्का,

रोल्पा, ९ माघ । रोल्पामा बालविवाहको कहाली लाग्दो घटना बढ्दै गएपछि यसविरुद्ध बिभिन्न निकाय र केही स्थानीय तहबाट सक्रियता देखाएको छ । यही सक्रियतासंगै २ महिनाभित्र बालविवाह गरेका ९ जोडीलाई छुटाएको छ, भने बालविवाह गर्नेहरुको संख्यामा पनि कमी आउन थालेको छ ।

रोल्पामा प्रहरीले बालविवाह न्यूनीकरण सम्बन्धी घरदैलो अभियान तीब्र रुपले अगाडि बढाएको छ । ईलाका प्रहरी कार्यालय होलेरीले रुन्टीगढी गाउँपालिका र त्रिबेणी गाउँपालिकाका १५ वटा बिद्यालयहरु र प्रत्येक गाउँगाउँमा पटक–पटक पुगेर बालबिबाह न्यूनीकरण सम्बन्धी घरदैलो अभियान गर्न थालेको छ ।

गरिबी, अशिक्षा र चेतनाको अभावका कारण गाउँ गाउँमा बालबिबाह बढदो छ । यसरी शारीरिक, मानसिक र ब्यबहारिक पक्षको परिपक्वताको बिकास नभएर गरिने बालबिबाहले परिवार, समाज र अन्तत सिङ्गो राष्ट्रलाई समेत पछाडि धकेल्ने काम गर्दछ ।

रोल्पामा प्रायः यस्तो घटनाहरु घट्ने गरेका छन्, जुन उमेर नपुगेरै बिबाह गर्ने, उमेर नपुगेरै सन्तान जन्माउने, घरायसी कलह, आत्महत्या र २० बर्ष नपुग्दै छोडपत्र हुने र पछि गएर अभिभावक र बालबालिकाको भविष्य नै बिग्रने कुरीति समाजको रोग जस्तै बनेको छ ।

यस्तो गतिविधिलाई न्यूनीकरण गर्न प्रहरीले सचेतनामुलक कार्यक्रम र बालबिबाह गर्नेहरुलाई कारबाही अगाडि बढाएको छ । समाजमा विकृतिहरु फैलने अनेकौं कारणहरु भएपनि रोल्पा जिल्लाको हकमा भने समाजमा बिकृति फैलाउनुमा बालविवाह नै मुख्य कारण रहेको ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख इन्स्पेक्टर खड्काको भनाइ छ ।

बालविवाह महिला हिंसा, लैङ्गिक हिंसा बहुविवाह, लागू औषध दूव्र्यशन तथा ओसारपसार विरुद्धको अभियान बिद्यालय तथा गाउँगाउँमा शुरूवात गरिएको छ । रोल्पामा सबै भन्दा बढी समस्या बालबिबाह भएकाले आफूहरु बालबिबाह न्यूनीकरणमा तीब्र रुपले लागि परेको उनले बताए ।

ईलाका प्रहरी कार्यालय होलेरीमा यस अघि उजुरी परेका बाहेक बालबिबाह न्यूनीकरण सम्बन्धी अभियान र खोजी कार्य गरिएको थिएन । अहिले अभियानकै रुपमा प्रहरीले यस्तो कार्यको शुरुवात गरेपछि स्थानीयमा समेत खुसी छाएको छ ।

बालाबिबाहले समाजमा बिकृति फैलाउनुका साथै अन्य बालबालिकाले समेत देखासिखी गरेर उमेर नपुगेरै बिबाह गर्ने भएकोले बालबिबाह छुटाउनै पर्ने इन्स्पेक्टर खड्काले बताए । अभियानकै क्रममा गाउँगाउँ पुगेको प्रहरीले रोल्पाको रुन्टीगढी गाउँपालिका र त्रिबेणी गाउँपालिकामा भएका ९ वटा बालबिबाह छुटाएको छ ।

अहिले प्रत्येक बालबालिकालाई अबिभावकको जिम्मा लगाएर बिद्यालय पठाउन सुझाव दिइएको र बिद्यायहरुमा प्रत्येक दिन फोन गरेर बिद्यालय हाजिर भए नभएको समेत बुझ्ने गरेको ईलाका प्रहरी कार्यालय होलेरी प्रमुख खड्काले बताए ।

यस्ता अभियान सञ्चालन गर्न स्थानीय तहहरुमा प्रत्येक वर्ष लाखौं रुपैयाँ बजेट बिनियोजन गरिने भएपनि रोल्पामा कुनै पनि स्थानीय सरकारले यस्तो अभियान सञ्चालन गरेका छैनन् ।

तर त्रिबेणी गाउँपालिकाले भने केही वडाहरुमा सचेतनामुलक कार्यक्रमको शुरूवात गरेको छ । समृद्ध समाज निर्माण गर्नका लागि समाजको कुसंस्कार, बेतिथी र बिकृतिको जडबाट नै अन्त्य गर्न आबश्यक छ ।

बालविवाहको विकृति रोल्पामा कहाली लाग्दो रुपमा बढ्दै

प्रतिक्रिया दिनुहोस्

LIVE TV