८ माघ २०७७, बिहीबार
  • रिदम सिंह,

बझाङ, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली पक्षले पार्टीभित्रको फुटलाई निम्त्याउन दाहाल–नेपाल पक्ष मुख्य दोषी रहेको निष्कर्ष निकालेको छ । ओली समूहले विहीबार जिल्ला सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी दाहाल–नेपाल समूहले पार्टीभित्र नै द्वन्द्ध सिर्जना गरी पार्टीलाई संकटमा पु¥याएको बताएको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपाको ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले देशमा जनताको मर्म अनुसारको काम गरेको, अन्तरदेशीय सम्बन्धलाई सुमधुर बनाउदै गएका बेला नेपालमा अस्थिरता चाहानेहरुले पार्टी र देशलाई नै भड्खालोमा हालेको ओली पक्षले निष्कर्ष निकालेको छ ।

केन्द्रमा आएको विवादसँगै जिल्ला स्तरमा पनि यतिबेला तरङ्ग पैदा भएको छ । जिल्लामा पनि नेता कार्यकर्ताहरु विभाजित भएका छन् । नेकपाले बझाङमा जिल्ला कमिटीलाई पुनः गठन गरेको छ ।

यही माघ ५ गते ओली पक्षले नेकपा बझाङका अध्यक्ष मिन बहादुर कुँवरले पार्टीको मर्म विपरीत रहेर काम गरेको, पार्टी भित्रको आन्तररिक कुराहरुलाई बाहिर ल्याएको, पार्टीको सम्पतिलाई दुरुपयोग गरेको भन्दै अध्यक्षको जिम्मेवारी खोसेको थियो ।

माघ ५ गतेको विस्तारित वैठकले संविधान सभा सदस्य अफिलाल ओखेडालाई नयाँ जिम्मेवारी दिएको छ । पार्टीको नाममा रहेको १७ लाख रुपैया समेत हिनामिना गरेको भन्दै नयाँ जिम्मेवारी पाएका वर्तमान अध्यक्ष अफिलाल ओखेडाले पदमुक्त गरिएका मिन बहादुर कुवँरले पार्टीलाई भड्खालोमा राखेर आफु बन्ने प्रवृती देखाएको बताए ।

विस्तारित बैठकमा नेकपा वझाङका जिल्ला कार्यसमितिलाई पनि पुनः गठन गरेको छ । १३३ सदस्यीय जिल्ला कमिटीलाई बढाएर ९ सय ९९ जनाको बनाएको छ । त्यस्तै, ३ सय ३३ सदस्यीय सचिवालय कमिटी र २५ सदस्यीय कार्यालय सञ्चालन समिति बनाएको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

अध्यक्ष ओखेडाले आगामी दिनहरुमा बस्ने पार्टीको बैठकले निर्वाचन क्षेत्र कमिटी, गाँउपालिका कमिटी, वडा कमिटी तथा जनवर्गीय संगठन गठनका लागि निर्णय गर्ने बताए ।

सीमित मान्छेले जनतामा भ्रम छर्ने गरेको भएपनि त्यो दिवा सपना रहेको प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंहको भनाइ छ । जनतामा भ्रम छरेर अगाडि बढ्न खोज्ने दाहाल–नेपाल कम्पनीका हिमायतीहरु इतिहासमा समाप्त हुने सिंहको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV