८ माघ २०७७, बिहीबार
  • रिया भण्डारी

काठमाडौं, ८ माघ । तथ्यांकले नेपालमा कोरोना भाइरसको संक्रमण सुस्ताउँदै गएको देखाउँदै गर्दा नेपालमा कोरोनाविरुद्धको १० लाख डोज खोप भित्रिएको छ ।

सरकारी पूर्वानुमानलाई गलत सावित गर्दै चाँडै खोप भित्रिएपछि नेपालमा कोरोनाको जोखिमबाट थप सुरक्षित महसुस गर्न थालिएको छ । कोरोना भाइरस विरुद्धको खोप पहिलो चरणमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि दिइने तयारी गरिएको छ ।

भारतले उपलब्ध गराएको कोरोना खोप त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा लगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे एयर इन्डियाको अवतरण गराइएको १० लाख डोज कोरोना विरुद्धको खोप रिफ्रिजेरेटरमा राखेर टेकु लगिएको थियो ।

खोपलाई निश्चित तापक्रममा भण्डारण गर्नुपर्ने कारण कोल्डचेनमा राखिने छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले एयरपोर्टमा बुझेका हुन् । त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गरेका थिए ।

भारतले आफ्नो देशमा खोप अभियान सुरु गरेको छैटौं दिन नेपाललाई पनि खोप उपलब्ध गराउदै नेपाल भारत सम्बन्ध प्रगाढ रहेको बताएको छ ।

भारतले नेपाललाई उपलब्ध गराएको खोप बेलायतको अक्सफोर्ड बिश्वबिद्यालयका बैज्ञानिकहरुले बिकास गरेका हुन् भने एक्स्ट्राजेंकाको सहकार्यमा भारतको पुनेस्थित सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।

यो खोप पहिलो डोज लगाएको १२ हप्तामा दोस्रो डोज लगाउनु पर्नेहुन्छ । नेपाल सरकारले भारत सरकार मार्फत खोप खरिद गर्ने प्रस्ताव गरे पनि भारत सरकारले खोप अनुदान मै दिएको छ ।

नेपाल आएको खोप बेलायत भारत अमेरिका लगायतका देशमा आपतकालीन प्रयोगका लागि स्वीकृत प्राप्त खोप हो । गत हप्ता नेपालको औषधि ब्यबस्था बिभागले पनि यो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो ।

खोप बिज्ञहरुले यो खोप विश्व स्वास्थ्य संगठनको आइएसओ प्राप्त बेलायतको नियमन निकायबाट खोप प्रयोग अनुमति पाइसकेको कारण अन्य खोप भन्दा बढी विश्वासिलो भएको बताएका छन् ।

बेलायतले कोरोना खोपलाई अनुमति दिनुको अर्थ यो खोप सुरक्षित र कोरोनाविरुद्ध प्रभावकारी छ भन्ने प्रमाण भएको बिज्ञ बताउछन् । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले गत अप्रिल महिनामा पहिलोपटक यो खोपको मानव परीक्षण गरेका थिए ।

खोपले अनुमति पाएपछि विश्वको सबै भन्दा ठूलो खोप उत्पादक कम्पनी सेरमले खोप उत्पादन गरेको हो । भारतमा ६ दिन अघिदेखि दिन थालिएको यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएको भारत सरकारको दावी छ ।

तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV