८ माघ २०७७, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), ८ माघ । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको जग्गाबाट १५ धुर जग्गा व्यक्तिको नाममा नामसारी गरिएको छ । ठाकुरराम बहुमुखी क्याम्पस शिक्षा संकायको क्वाटरमा बस्दै आएका पूर्व कर्मचारी स्व. रामउदय पाण्डेका छोरा राजकिशोर पाण्डेले फर्जी लालपूर्जा बनाइ उक्त जग्गा आफ्नो दाबी गर्दै आएका छन् ।

पोखराबाट सरुवा भई २०६० साल पुस ७ गते ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा हाजिर भएर काम गर्दै अवकास भई मृत्युसमेत भइसकेका स्व. पूर्व कर्मचारी रामउदय पाण्डेका छोरा अहिले बस्दै आएको क्वाटरको जग्गा आफ्नो भनेर क्वाटर खाली गर्न आनाकानी गर्दै आएका हुन् ।

ठाकुरराम बहुमुखी क्याम्पस प्रशासनले पटक–पटक क्वाटर खाली गर्न पत्रचार गर्दा समेत नमानेर हाल आएर फर्जी लालपूर्जाकै आधारमा उक्त जग्गा आफ्नो व्यक्तिगत रहेको भनेर दाबी गर्दै आएका छन् ।

पाण्डेले २०६३ साल वैशाख १५ गते मालपोत कार्यालयबाट कि.नं. १६ र ४६ को १५ धुर जग्गा नामसारी गराएका छन् । क्याम्पसको जग्गा निजी व्यक्तिको नाममा कसरी नामसारी भयो ? भनेर क्याम्पसले मालपोत कार्यालयलाई च.नं. ४४४/०७६-०७७ को पत्रबाट लिखित पत्राचार गरेर जवाफ माग्दा मालपोत कार्यालय पर्साले २०७७/०४/०८ गतेको च.नं. २०३ मार्फत उक्त लालपूर्जामा उल्लेखित जग्गाको अभिलेख यस कार्यालयमा नरहेको भनेर लिखित जवाफ दिएको थियो ।

मालपोत कार्यालयलाई क्याम्पसले गरेको पत्राचारको आधारमा मालपोत कार्यालयको मुद्दा शाखाले समेत उक्त नामको जग्गा अभिलेखमा नदेखिएको भनेर जवाफ लिखित जवाफ दिएको छ । त्यस्तै, मोठ भिडाउने शाखाले पनि माथि उल्लेखित विवरण कम्प्युटरमा अभिलेख देखिएन भनेर लिखित जवाफ नै दिएको छ ।

नापी शाखाबाट पनि फिल्डबुक निकाल्दा उक्त जग्गा कुनै व्यक्तिको नाममा नदेखिएको कारण पाण्डेले फर्जी लालपूर्जा तयार पारेको पुष्टि भएको छ । लालपूर्जा जारी हुने कार्यालयले लिखित रुपमा जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिदा समेत कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढेको र पाण्डेले पनि क्वाटर खाली नगरेको क्याम्पस सामान्य प्रशासन शाखा प्रमुख गीता कुमारी श्रेष्ठले जानकारी दिइन् ।

यस अवस्थामा पाण्डेले कसरी कहाँबाट लालपुर्जा प्राप्त गरे ? भन्ने खोजीको विषय बनेको छ । फर्जी लालपूर्जा तयार गरेर पाण्डेले वडा कार्यालयको सिफारिसमा नेपाल विद्युत प्राद्यिकरणबाट विजुली समेत जडान गरेका छन् ।

पाण्डेले कहिँ कतैबाट फर्जी लालपूर्जा तयार पारी आफ्नो जग्गा रहेको दाबी गर्दै गुण्डागर्दी शैलीमा क्वाटर खाली नगरेको उनले बताइन् । क्वाटर खाली गर्न भन्दा उल्टै झपार्ने तथा घरमा समेत केही व्यक्तिहरुलाई पठाई क्वाटर खाली गराउन किन लागि परेको भन्दै धम्की समेत दिने गरेको उनको आरोप छ ।

क्वाटर खाली गराउनका लागि त्रिभुवन विश्व विद्यालयका नियमानुसार पहिला विजुली काट्ने, त्यसबाट नमाने पेन्सन रोक्नका लागि विश्व विद्यालयमा पत्राचार गर्ने अनि अझ अटेरी गरेमा प्रहरी लगाएर खाली गराउने निमानुसार कार्य हुँदै गर्दा पनि पाण्डेले हालसम्म क्वाटर खाली गरेका छैनन् ।

पेन्सन रोक्नका लागि त्रिभुवन विश्व विद्यालयमा पत्राचार गर्दा पनि नरोक्नुका साथै काटिएको बिजुली पनि पुनः जडान गराएर पाण्डे जबरजस्ती उक्त क्वाटरमा बस्दै आएका छन् ।

क्वाटर खाली गराउनका लागि श्रेष्ठ लगायत क्याम्पस प्रमुखसहितको टोलीले पटक–पटक प्रहरी समक्ष धाउँदा समेत पाण्डेले क्वाटर खाली नगरेको उनको भनाइ छ । पाण्डेका बुवा २०६० सालमा क्याम्पसमा कर्मचारीको रुपमा कार्यरत रही २०६१ चैत २८ गते क्वाटरमा प्रवेश गरेका थिए ।

क्वाटरमा प्रवेश गर्दाको बखत उनीसँग गरिएको कागजातमा क्वाटर लगायत केही फर्निचरहरु पनि दिइएको उल्लेखित कागज अहिलेपनि क्याम्पससँग सुरक्षित रहेको छ ।

यसबारे पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले क्याम्पसबाट आएको उजुरीमा लालपूर्जा छानविनबारे नभई क्वाटर खाली गराउन सुरक्षा प्रदान गरिदिनुहुन भनेर निवेदन आएको हुनाले छानविन हुन नसकेको बताए ।

अब यो घटनामा फर्जी लालपूर्जा नै तयार पारिएको भनेर जानकारी आएकोले तत्काल छाविन प्रक्रियालाई अगाडि बढाइने उनले बताए । उनले एक दुई दिनमै क्याम्पसका कर्मचारीसहित विपक्षीलाई झिकाई के कस्तो समस्या हो, र लालपुर्जा सही हो कि फर्जी हो भन्नेबारे पनि छानविन गरि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV