८ माघ २०७७, बिहीबार

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचनमा जान लागेको बताउनुभएको छ ।

विहीबार (आज) प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो ।

त्यस्तै, उहाँले देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको बताउँदै यसमा सबै सजग हुनुपर्ने र देश बनाउन तथा बचाउनका लागि सबैले सहमति कायम राख्न आवश्यक रहेको पनि बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री ओलीले नेकपाको दाहाल–नेपाल समूहले देशलाई अन्धकारतर्फ धकेल्ने कोसिस गरेको आरोप लगाउनुभएको छ । उहाँले दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको आरोप लगाउँदै भन्नुभयो, ‘समाजमा विभिन्न शक्ति, तत्व र व्यक्ति हुन्छन् ।

उनीहरु स्वार्थका लागि अनेकप्रकारका हाउभाउ गर्छन् । जनतालाई सिनेमा देखाउँछन् । केही मान्छे नाटक देखाउँन आउछन् । तमासा गर्छन्, जनतालाई झुक्याउँछन् । हामीले जनतलाई उनीहरुको तमासाबाट सचेत गराउनुपर्छ ।’

उहाँले थप भन्नुभयो, “हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइन । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।”

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकारः स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षाः प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ ।

 

 

तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV