८ माघ २०७७, बिहीबार
  • भगतराम थारु

बाँके, ८ माघ । बाँकेको खजुरा गाउँपालिकामा ‘खजुरा औद्योगिक ग्राम’ निर्माण कार्य सुरु गरिएको छ । त्यसका लागि पालिकाले खजुरा औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पारेको छ ।

सरकारले देशभरिका सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने कार्यक्रम अन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको हो ।

स्थानीय सीप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रिपरिषद्को बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेअनुसार बाँकेको खजुरा गाउँपालिका सरकारको सूचीमा परेको थियोे ।

खजुरामा बन्दै गरेका औद्योगिक ग्रामले यहाँको समग्र व्यावसायलाई प्रोत्साहन गर्नुका साथै युवाहरुलाई व्यवसाय तर्फ उन्मुख गराउन प्ररित गर्ने स्थानीयको आशा छ ।

खजुरा गाँउपालिकाकै जगराम हरिजन सिकर्मीको काम गर्छन् । खजुरामा औद्योगिक ग्राम बनेपनि आफु र आफुजस्ता ज्याला मजदुरी गरेर गुजारा गर्नेहरुका लागि निक्कै सजिलो हुने भन्दै उनी पनि मख्ख छन् ।

डीपीआरका अनुसार करिब चालिस करोडको लागतमा २१ बिघा क्षेत्रफलको औद्योगिक ग्राम भित्र विभिन्न भौतिक पूर्वाधार तयार पारिने पालिकाले जनाएको छ । सो औद्योगिक ग्रामभित्र पहिलो चरणमा प्रशासनिक भवन, हेल्थ पोस्ट, गार्ड रुम, पार्क, बाटो, खानेपानी, विद्युतीकरण लगायतका काम गरिने छ ।

सरकारको सो निर्णयलगत्तै खजुरा गाउँपालिकाले वडा नम्बर ६ पुरैनामा औद्योगिक ग्राम निर्माणका लागि २१ बिघा जग्गा व्यवस्थापन गरेको थियो । सो जग्गालाई तारबार गर्ने तथा चौकीदार बस्ने घर बनाउने काम अहिले तीव्र गतिमा भइरहेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

बन्दै गरेको औद्योगिक ग्रामले लगानीकर्तालाई खजुरामा आकर्षित गर्नुका साथै खजुरा गाँउपालिका नमुना गाउँपालिकाका रूपमा स्थापित हुनेमा कुनै शंका छैन । यसकारण पनि खजुरा गाँउपालिकाले साना ठूला लगानीकर्ता आकर्षित गर्ने नीति बनाएर अगाडि बढ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV