यहाँ पैसाको मात्र होइन, समयको पनि भ्रष्टाचार हुन्छ : सीमाकुमारी क्षेत्री, मेयर



प्रकाशित मिति : Jan 21, 2021

स्थानीय तहको काँधमा अहिले विकासको ठूलो जिम्मेवारी थपिएको छ । दुई दशक बढी समय जनप्रतिनिधिविहीन बनेको स्थानीय तहमा प्रतिनिधिहरु निर्वाचित भएसंगै विकासको आशा पलाउनु अस्वभाविक होइन पनि । त्यसमाथि पनि सिंहदरबारको अधिकार गाउँघरमा भन्ने नारा नै तय गरेर स्थानीय तहको निर्वाचनहरु सम्पन्न भए । तर धेरै ठाउँमा स्थानीय तहहरुले निराशामात्र पस्कदै गर्दा धेरै ठाउँमा भने आशलाग्दो गरी विकासको कामहरु भएका छन् । औलामा गन्न सकिने गरी यस्तै उदाहरण पेश गर्ने पालिकाहरु मध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका पनि एक हो । पुतलीबजार नगरपालिकाको मेयर सीमाकुमारी क्षेत्री अहिले आफ्नो पालिकाको विकास निर्माणका लागि अहोरात्र संघर्षरत हुनुहुन्छ । ‘समृद्ध पुतलीबजार, सुखी नगरवासी’ को नारा नै तय गरेर अघि बढनु भएकी क्षेत्रीलाई संघीय सरकारका व्यक्ति र नेताहरुले स्थानीय तहहरु भ्रष्टाचारको अखडा बने भन्दा मेयर क्षेत्रलाई चित्त दुख्दो रहेछ । उहाँको भनाइ छ ‘ खरबारीमा आगो लगाउने र संरक्षण सुरक्षित राख्ने मान्छेलाई एकै ठाँउमा राख्नु हुँँदैन’ । उहाँ थप भन्नु हुन्छ ‘ पैसाको मात्र होइन, समयको पनि भ्रष्ट्राचार हुन्छ भन्ने मेरो मान्यता हो ।’ मेयर क्षेत्रीसंग न्यूज २४ नेपाल डटटिभीका लागि कृष्णकुमारी चौलागाईले गरेको कुराकानी ।

‘समृद्ध पुतलीबजार, सुखी नगरवासी’ नारा बनाउनुभएकाे रहेछ, नाराअनुसार काम भए त ?

यो कुरा मैले भन्दा पनि मेरा नगरवासीले भन्दा ठीक होला । जनताको प्रत्यक्ष निगरानीमा बसेर काम गर्ने सबैभन्दा तल्लो तहका प्रतिनिधि हौं हामी । हामी जनताको माँझमा बसेर काम गर्न थालेका लामो समय भइसक्यो । काम गर्दा केही त्रुटिहरु भएका होलान् तर समग्रमा एउटा मेयरको हिसाबले भन्नुपर्दा नगरलाई समृद्धको दिशातर्फ उन्मूख भइसकेको छ ।

हामीले कृषि र पर्यटनलाई तथा युवालाई प्राथमिकतामा राखेर काम गरेका छौँ। स्थानीय स्तरमा उद्यमशीलता विकासको लागि नगर हरपल प्रयत्नरत नै छ । कृषिका क्षेत्रमा धेरै राम्रा र विकासयुक्त काम भइसकेका छन् । स्वास्थ्य, शिक्षा र खानेपानीलाई आधारभूत आवश्यकताका कुरा मानिएको छ ।

नगरपालिकाका सबै बस्तीमा मोटरबाटो पुर्याउने काम भइसकेको छ । विकासका कामलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । पछिल्लो समय कोभिडका कारण नगरको केही लक्ष्य बमोजिम काम हुन सकेन यो विश्वव्यापी समस्या हो भनेर चित्त बुझाएका छौँ । समग्रमा हर्ने हो भने नारा अनुसार काम राम्रो भएको छ ।

स्थानीय स्तरमा बजेट अभाव छन्, काम गर्न अप्ठ्यारो छ भन्ने गरिन्छ कसरी काम गरिराख्नु भएको छ ?

स्थानीय तहमा आर्थिक स्रोत कम छन् । मेरै नगरपालिकाको कुरा गर्दा अहिले पनि ३ करोड पनि स्थानीय स्रोत छैन । म मेयर भएर जाँदा १ करोड थियो । हामीले कर बढाएर भन्दा पनि दायरा बढाएर अलिकति व्यवस्थापन गरेका थियौँ । यस वर्ष त झन कोरोनाले असर पा¥यो । स्थानीय स्रोत साधन थोरै भएको कारण प्रदेश र संघीय सरकारसंग भर पर्नु पर्ने हुन्छ । हाम्रो अनुरोध संघ र प्रदेशले बजेट अलि धेरै र बेलामा नै छुट्यादिने हो भने व्यवस्थापन गरेर काम गर्न सहज हुन्छ । पहिला भन्दा अहिले संघ र प्रदेशले बजेट समयमा दिएका छन् । स्रोत न्यून छ, जनताको अपेक्षा असाध्यै धेरै छ, त्यसले गर्दा धेरै जसो अप्ठ्यारो पारेको हुन्छ ।

विकासको नाममा प्रकृतिमाथि दोहन धेरै भयो भन्ने कुराहरु पनि आइरहेका हुन्छन् नि ?

पूर्वाधार विकासको कुरा गर्दा पहिलाको जस्तो मानवीय स्रोत प्रयोग गरेर सम्भव हुदैँन । डोजरको प्रयोग गर्दा भएका क्षतिको पूर्ति गर्दा के के कुराको प्रयोग गर्दा विकास संगै विनाश हुदैँन त्यसलाई पनि ध्यान दिन हामीले हामी मातहतका इञ्जिनियरहरुलाई भनिरहेका छौँ । हामी आउँदा वस्तीसम्म जाने बाटोहरु पनि थिएनन्, अहिले बस्ती बस्तीमा बाटो पुगेका छन्, त्यसको स्तरोन्नतिका काम पनि गरिरहेका छौँ । सोही क्रममा प्राकृतिकमाथि दोहन नहोस् भन्नका लागि सम्भावित क्षति हुने बाँस अम्रिसो लगाएका छौँ । जस्ले गर्दा पूर्वाधार विकास गर्दा विनास कम गर्न सहयोग गर्छ ।

समृद्ध नगर हुनको लागि शिक्षा स्वास्थ्यजस्ता आधारभूत विषयले पनि महत्वपूर्ण भूमिका खेल्छन्, शिक्षाको सन्दर्भमा विशेषगरी सामुदायिक विद्यालयमा सधैँ कमजोर भएको पाइन्छ नि !

पुतलीबजार नगरपालिकामा सामुदायिक विद्यालय ७० वटा र संस्थागत विद्यालय १६ वटा छन् । सामूदायिक र संस्थागत विद्यालयको आफ्नो आफ्नै गुण तथा अवगुण पनि रहेका छन् । म आफु पनि पूर्व शिक्षक भएकोले शैक्षिक चुनौती र अवस्थाको बारेमा म पूर्ण रुपमा जानकार छु । जस्ले गर्दा नगरको शैक्षिक उन्नतिका लागि मेरो भुमिका फरक रहने नै भयो । मैले आफले सामूदायिक र संस्थागत विद्यालयबीच बेला बेलामा अन्र्तक्रिया गराउने गरेको छु, जसबाट एकले अर्काको राम्रो कुरा सिक्न मद्धत पुग्छ ।

अहिले तत्कालै संस्थागत विद्यालय ‘कोल्याब्स’ गर्ने स्थिति छैन । सामूदायिक विद्यालय त झन सामान्य जनताका छोराछोरी पढ्ने विद्यालय हो । त्यसको स्तर उन्नतीको लागि धेरै प्रयत्न ग¥यौँ । पहिलाको तुलनामा सामूदायिक विद्यालयको केही प्रगती भएका छन् । हामीले किताबी ज्ञान मात्र नभएर प्राविधिक ज्ञान पनि हुनुपर्छ भनेर लागिरहेको छौँ ।

तपाईले महिलाका समस्यालाई बुझेर कत्तिको काम गरिरहनुभएको छ ?

महिलाको नेतृत्व विकास, सीप, तथा उद्यमशीलताका तालिमहरु दिइरहेको छु । महिलाका समस्याहरुलाई प्रत्यक्षरुपमा नियालेर समाधान गर्ने कोशिस गरिरहेको छु । नगरपालिकाले पनि आर्थिक उर्पाजनका लागि महिलालाई बढी प्राथमिकता दिइरहेको छ ।

स्थानीय स्रोत साधन उपयोग र स्थानीय रोजगारीलाई कत्तिको प्राथमिकता दिनुभयो?

स्थानीय तह स्थानीय स्रोत साधन बिना केही पनि होइन । हामीले गर्ने विकास तथा त्यसमा प्रयोग हुने कतिपय बजेटहरु स्थानीय स्रोतसाधनबाट नै आएका हुन्छन् ।

तपाईलाई चुनावी घोषणपत्रमा भने अनुसार कति प्रतिशत प्रतिबद्धता पूरा भए जस्तो लाग्छ ?

लाग्छ ! एउटा कुरा म ढुक्क साथ भन्न सक्छु कि जनतासँग गरेको प्रतिबद्धता अनुसार नै काम गरेको छु । म आफुले जनता भएर बसेको छु । जनताको अपेक्षा के छन् भन्ने स्पष्ट थिए । त्यो भन्दा पनि जनतासंग झुटो बोल्नु हुँदैन भन्ने कुरा मैले बुझेको थिए । सोही अनुसार हामीले हाम्रो घोषणा पत्रमा काम गर्न नसक्ने कुरा राखेका थिएनौँ जे राखेका थियौँ सोही अनुसार काम गरिरहेका छौँ । स्रोत साधनका कमीका कारण केही कामहरु हुन सकेका छैनन होला । कहिले काहिँ म आफुले विचार गर्दा पनि मैले जनतालाई ढाँटे जस्तो लाग्दैन । विकास र समृद्धिको काम छु मन्तर गरेको भरमा हुने कुरा पनि त होइन ।

जनगुनासोहरु सुन्ने गर्नुभएको छ ? कस्ता गुनासा आउछन् ? कसरी सुल्झ्याउनु हुन्छ ?

सम्भव भएसम्म सुन्ने गरेको छु । सुझाव पेटिकामा आएका सुझाव गुनासोहरु हेर्ने गरेको छु । सुधारोन्मूख पनि भइरहेको हुन्छ । जनताको गुनासो भनेको नै भौतिक पूर्वाधार हुन्छन् । बाटो कुलो, जाली, पाइप जस्ता कुरा हुन्छन् ।

यस वर्ष अत्याधिक बाढीपहिरो भयो, क्षति पनि बढी नै भयो, जस्ले गर्दा घरबारबिहीन हुनुप¥यो त्यस्ले गर्दा पनि गुनासो बढ्ने नै भयो । नगरको नारा नै सुकुम्बासीबिहीन बनाउने हो, त्यसैले पनि जग्गा व्यवस्थापन गरिरहेका छौँ । बाढीका कारण जस्को जग्गा छ तर घर बनाउन सक्ने अवस्था छैन उनीहरुलाई नगरपालिकले घर बनाइदिएको छ । घरको छाना विस्थापनमा पनि लागेका छौँ । कोही पनि जनता आकाशमुनि बस्नु नपरोस् भन्ने हाम्रो नारा हो सोही अनुसार काम गरिरहेका छौँ । जनताको अपेक्षा पूर्ण रुपमा काम गर्न नसके पनि नगरपालिकाले गर्न सक्ने काम गरिरहेका छौँ ।

कोभिडका कारण स्थानीय निकायले नि निक्कै क्षति व्यहोर्नु पर्यो नि होइन ?

क्षति संगसंगै हामीले काम गर्ने अवसर पनि पायौँ । युवाहरु विदेशबाट फर्किनु भएको छ । जस्लाई हामीले सीप सिकाएर स्थानीय स्तरमा नै काम गराउन पाएका छौँ । तल्लो तहमा रहेका हामीले यो समयमा यत्ति धेरै काम ग¥यौँ । पुतली बजारका जनता जस्को घरमा खानेकुरा छैनन् , उहाँहरुको घरघरमा खाना पु¥यायौँ । आइसोलेशन , फ्रि, एम्बुलेन्स फ्रि, स्वाव परीक्षण निशुल्क गरेका थियौँ । भत्ता पनि घरघरमा पु¥याएका थियौँ । जीप जीपमा लगेर खाद्यान्न पु¥याएका थियौँ । अहिले पनि फ्री स्वाव लिइरहेका छौँ । गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा पुतली बजार पुरस्कृत नै भयो कोभिडको समयमा राम्रो काम गरेका भनेर ।

राम्रो काम गर्दा गर्दै स्थानीय तहलाई काठमाडौँको सिंहदरबार गाँउगाँउमा पस्यो, भ्रष्ट्राचार पनि मौलायो भन्ने लाच्छाना लाग्ने गर्छ नि ?
मेरो त चुनावी घोषणा पत्रमा नै ‘म भ्रष्ट्राचार गर्दिन, गर्नपनि दिन्न, कमिसन खान्न खानपनि दिन्न’ कहिँ कतै तपाईहरुले थाहा पाउनु भयो भने मलाई खबर गर्नुहोस् भनेको छु । सार्वजनिक सुनुवाई गर्ने गरेका छौं । फोन, सुझाव पेटीका, नगरका गतिविधि सार्वजनिक सञ्चार माध्यमबाट सार्वजनिक गर्ने गरेका छौ । मलाई छुच्चो र कञ्जुस मेयर भनेर पनि चिन्छन् । मेरो सार्वजनिक सुनाईमा पनि त्यही भन्ने गरेको छु । कहीँ कतै भ्रष्ट्राचार भएको छ भने भन्नुस् भनेका छौँ । केन्द्र्रीय स्तरका, हामीलाई कारबाही गर्न सक्ने नेताले नै स्थानीय तह भ्रष्ट्राचारको अखाडा भयो भन्नुभयो, त्यसो भनिरहँदा मलाई चित्त दुख्यो । किनभने खरबारीमा आगो लगाउने र संरक्षण सुरक्षित राख्ने मान्छेलाई एकै ठाँउमा राख्नु हुँँदैन । कमजोरी होला मान्छेहरुको जस्ले बेठीक गरेका छ उस्लाई कारबाही गर्न सक्नु पर्छ । म घमण्डका साथ भन्न सक्छु, पुतलीबजारमा एक रुपैँया पनि भ्रष्ट्राचारी भएको छैन ।

काममा आनाकानी गरेर छोटो समय लाग्ने काम लामो समय कुनै कर्मचारी जनप्रतिनिधिबाट भएको छ भने पनि हामीले कारबाही तथा सम्झाई बुझाई गर्ने गरेका छौँ । पैसाको मात्र होइन, समयको पनि भ्रष्ट्राचार हुन्छ भन्ने मेरो मान्यता हो ।

तपाई आफै मेयर र महिला पनि हुनुहुन्छ । यो कत्तिको चुनौतीपूर्ण छ ?

चुनौतीसंगै अवसर पनि छन् । सुरुमा महिला पनि मेयर भन्ने गरिन्थ्यो तर काम गरेर देखाउनु मेरो लागि चुनौती थिए । कतिपय ठाँउबाट असहयोग पनि हुन्छन् । भएका निर्णय पनि कार्यान्वनमा समस्या हुन्छ तर त्यसलाई समाधान तर्फ लाग्नुपर्छ । अहिलेसम्म मैले सबै क्षेत्रबाट सहयोग नै पाएको छु । म मेयर हुनुभन्दा पहिले पनि समाजका अन्य क्षेत्रको नेतृत्व गरेको थिएँ ।

नगरपालिकाले गरिरहेका नयाँ कामहरु कस्ता छन् त ?
कृषि चक्लाबन्दी गरिरहेको छ । समृद्धिका लागि टुक्रा टुक्रा कृषिले सम्भव नभहुने देखेपछि चक्लाबन्दी सुरु गरेका छौँ । भौतिक पूर्वाधारहरु प्रस्तस्त भएका छन् । शिक्षाका विशेष ध्यान दिएका छौँ । स्वास्थ्यमा पनि विशेष ध्यान दिएका छौँ ।

गर्भवती तथा सुत्केरी महिलाको उद्धारको लागि सवारीसाधनको सेवा दिएका छौँ । अपाङ्गको स्याहर गर्ने व्यक्तलाई स्याहारे भत्ता दिएका छौँ। सुशासन कायमका लागि नगगरपालिका सधै तदारुकतताका साथ लागेको छ ।

तस्वीर: महेश्वर के‍‍सी /न्यूज २४ नेपाल

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com