६ माघ २०७७, मंगलवार
  • प्रकाश न्यौपाने,

रुपन्देही, ६ माघ । मुलुककै पहिलो निर्यातमुखी परियोजना हो, रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) । सरकार र मन्त्री परिवर्तन हुँदा बारम्बार उद्घाटन गर्दासमेत सेज अझै पूर्ण रुपमा संचालनमा आउन भने सकेको छैन ।

सेजमा अहिले तीन वटा उद्योग पूर्णरुपमा सञ्चालनमा छन् भने केही उद्योग निर्माणाधीन अवस्थामा छन् । रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा सरकारले ऐनअनुसार उद्योगीलाई कुनै सेवासुविधा उपलब्ध गराउन सकेको त छैन नै आवश्यक नियम, कानूनसमेत बनाएको छैन ।

यस्तो अवस्था पनि केही उद्योगीले उद्योग निर्माण गरेर आफ्ना उत्पादन बाह्य मुलुक निकासी गरेका छन् । सेजमा स्थापित शक्ति मिनरल्स्, ब्रिलियन लाइटस् र बिस्तार ग्लोबलले चालु आर्थिक वर्षको ६ महिनामै २० करोड ६१ लाख रुपैयाँ बराबरको आफ्नो उत्पादन भारत निकासी गरेका छन् भने आन्तरिक बजारमा ७ करोड २८ लाख रुपैयाँको विक्री गरेका छन् ।

निर्यातलाई प्रवद्र्धन गर्ने र मुलुकलाई आत्मनिर्भर बनाउने योजनासहित सरकारले पहिलोपटक भैरहवामा सेजको स्थापना गरेकोे हो । तर सञ्चालनका लागि लामो समय ऐन नै बनेन् भने आवश्यक विद्युत् समेत उपलब्ध भएन ।

विद्युत्का लागि सवस्टेशन बनाउने सुरसारै छैन । ऐन बने पनि आवश्यक नियम, कानून बनेका छैनन । जसले गर्दा सेज विकास प्राधिकरणले आफ्नै कर्मचारी राख्नसमेत पाएको छैन । माथिल्लो तहका कर्मचारी काठमाडौं केन्द्रित छन् भने भैरहवा कार्यालयमा अधिकांश करारका कर्मचारी नियुक्त गरिएको छ ।

सरकारी सुविधा विनै पनि पछि सुविधा पाउने आशमा उद्योगीले अहिले ६ वटा उद्योग निर्माण गरिरहेका छन् । ४८ वटा प्लट रहेको सेजमा प्लट लिएका ७ उद्योगीले उद्योग निर्माणको सुरसार नै गरेका छैनन् भने २० वटा प्लट अझै खाली छन् ।

खाली प्लट झाडीले ढाकेको छ भने सरसफाईमा प्राधिकरण पुग्न सकेको छैन । सेजमा स्थापित उद्योगले आफ्नो उत्पादनको ६० प्रतिशत बाह्य मुलुक अनिवार्य निकासी गर्नुपर्छ ।

डेढ दशक अघि नै स्थापित सेज अझैसम्म पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन नसक्नु सरकारकै लागि उपहासको पक्ष बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV