६ माघ २०७७, मंगलवार

काठमाडौं, ६ माघ । टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर १ ले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन मंगलबार वडा नम्वर १ ले वडा नम्वर ४ माथि १–० को जित निकालेको हो । टोखास्थित भुतखेल मैदानमा वडा नम्वर १ को जितमा अनिल अधिकारीले ५०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि मंगलबार नै भएको खेलमा वडा नम्वर २ र वडा नम्वर ८ ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ । लिगकम नकआउटको आधारमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पोल ‘ए’ मा वडा नम्वर ३, ६ र ७ तथा पोल ‘बी’ मा १, २, ४ र ८ वडा रहेको छ । एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा भएको प्रतियोगितामा बुधबार दुई खेल हुनेछ ।

वडा नम्वर ३ र ६ तथा वडा नम्वर १ र २ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता १३ माघसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV