६ माघ २०७७, मंगलवार

काठमाडौं, ६ माघ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवशीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश–२ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो । लुम्बिनीले दिएको २ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश–२ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८० रन मात्र बनाउन सक्यो ।

प्रदेश–२ का विवेक यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेलपनि टोलीको हार टार्न सकेनन् । यस्तै सुधीर चौधरीले ४२ रन जोड्दा महबुब आलमले ३१ रन बनाए ।

त्यस्तै हरिशंकर साहले २२ रन जोड्नु बाहेक प्रदेश–२ का अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । प्रदेश–२ लाई सस्तैमा समेट्न लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए । बिक्रम भुसाल र दिपेन्द्र रावतले २÷२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । जितसंगै समूह ’बी’ को लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । यस्तै मंगलबार मुलपानी मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई पाँच विकेटले हराएको छ ।

गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV