६ माघ २०७७, मंगलवार

काठमाडौं, ६ माघ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत एक डाक्टरमाथि कुटपिट भएको छ । मंगलबार (आज) कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले डा. सविन भण्डारीमाथि कुटपिट गरेका हुन् ।

शिक्षण अस्पतालका अनुसार निमोनियाका कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका उक्त बिरामीलाई बुटवलमा गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको कारण उनलाई ननकोभिड वार्डमा राखेर उपचार गरिएको थियो ।

उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकापछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । तर, टेकुमा इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएपछि ल्याबले कोरोनाको शंका गरेर पीसीआर गर्दा उक्त ब्यक्तिमा कोरोना पोजेटिभ आएको अस्पताललाई जानकारी गराइएको थियो ।

कोरोना पोजेटिभ रिपोर्ट आएपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको र उपचारको क्रममा बिरामीको मंगलबार (आज) मृत्यु भएको थियो । अस्पतालका अनुसार विरामीको मृत्युपछि रिपोर्ट लिन जाँदा ल्याबले इन्फ्लुएञ्जाको रिपोर्ट मात्र पठाएको थियो ।

सोही विषयलाई निहुँ पारेर मृतकका आफन्तले कोरोना नभएको मानिसलाई कोभिड आईसीयूमा राखेर मृत्यु भएको भन्दै हातपात गरेका अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV