सन्दीप बिग बासमा लगातार विकेटविहीन



प्रकाशित मिति : Jan 18, 2021

काठमाडौं, ५ माघ । नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहनुभएको छ ।होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहनुभएका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुक्नुभयो । खेलको पाँचौँ ओभरमा बलिङ गर्न आउनुभएका उहाँले सो ओभरमा छ रन खर्चिनुभयो ।

आफ्नो दोस्रो ओभरमा लामिछानेले विपक्षी खेलाडीलाई नौ रन दिनुभयो । तेस्रो ओभरमा उहाँले पाँच रन मात्र खर्चिनुभयो भने चौथो ओभरमा लामिछानेले आठ रन दिनुभयो । होबार्टका लागि उहाँले चार ओभर बलिङ गर्दै २८ रन खर्चिनुभयो ।

यसअघि पर्थविरुद्धकै खेलमा लामिछाने विकेटविहीन रहनुभएको थियो । उक्त खेलमा उहाँले विपक्षी खेलाडीलाई चार ओभरमा २३ रन दिनुभएको थियो । अघिल्ला तीन खेलमा गरी हाल जारी बिग बासमा लामिछानेले चार विकेट लिनुभएको छ ।

लामिछाने आबद्ध होबार्ट आजको खेलमा विजयी भएको छ । योसँगै होबार्ट लिगको चौथो स्थानमा उक्लिएको छ । होबार्टले हालसम्म खेलेका ११ खेलमध्ये छ मा जीत तथा पाँचमा हार बेहोरेको छ । होबार्टले कूल २३ अङ्क जोडेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com