५ माघ २०७७, सोमबार
  • ललन मण्डल,

महोत्तरी, ५ माघ । वर्षा होस् वा जाडो विपन्नका लागि आहत नै आहत । तराई–मधेसका विपन्न हिजो–आज शीतलहरको चपेटामा परेका छन् । ओढ्ने ओछ्याउनेसम्म पनि उनीहरुसँग छैन ।

झुप्रोमा आफ्नो दैनिकी गुजार्दै आएका उनीहरुको आगो ताप्ने बाहेकका विकल्प नै छैन । बालबालिका र बृद्धबृद्धा यो चिसोमा मृत्युको मुखसम्म पुग्ने गरेका छन् ।

विपन्न वर्ग चिसोको चपेटामा पिल्सिएका छन् । महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका सहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरवस्ती यो जाडोको समयमा ‘घुर’ अर्थात पराल, गुइँठा बालेर रात कटाउन बाध्य छन् ।

महोत्तरीमा पछिल्लो जनगणनाअनुसार मुसहरको २३ हजार ३६४ र बाँतरको दुई हजार ७९४ संख्या रहेको छ । त्यसयताका एकदशकमा यो सङ्ख्या बढेर दुवैको गरी ४० हजारको हाराहारी पुगेको तथ्याङ्क कार्यालय महोत्तरीले अनुमान गरेको छ ।

सम्पत्तिका नाममा पराले झुप्रो मात्र हुने मुसहर जातिमा सन्तान छोराछोरी किशोरावस्था पुगेपछि एउटा नयाँ आशा पलाउँछ । छोराछोरी हुर्केपछि बनीबुतो गरेर अन्नपात ल्याउने आशा गर्छन्, यो समुदाय ।

यीमध्ये भङ्गाहा, गौशाला, बर्दिवास र लोहारपट्टी नगरपालिकामा अन्यभन्दा बढी मुसहर जातिको बसोबास छ । झुप्रोमा जीवन गुजारा चलाउने गरिबका लागि जाडो छल्ने दुईवटा तरिका अपनाउँछन् ।

एउटा बाटो घाटोबाट सोहोरेर ल्याइएको पातपतिङ्गर, मिल्किएका झुत्रालुगा र अर्को प्लाष्टिक बटुलेर बालिने ‘घूर’ । जहाँ बस्तीभरिकै बृद्धबृद्धा, बालबालिका र महिला ‘घूर’को धुँवाबीचहात फैलाएर तातो लिएको अनुभूति गर्छन् ।
लगातार बढ्दै गएको चिसोले बनीबुतो (मजदूरी) गर्न जान नपाएपछि खाने कुरा को पनि समस्या बढ्दै गएको छ । ४ वर्ष अगाडि भत्काएको आफ्नो घर सरकारले बनाइदिन्छ कि भन्ने आशा उनीहरु सधै राख्छन् ।

चुनावका बेला घर बनाउने आश्वास बाँड्दै आएका नेताहरुलाई उनीहरु पटक–पटक सम्झन छन् । तर, कुर्सीमा पुगेका नेताहरुले उनीहरुलाई भुसुक्कै विर्सिएका छन् । यी पीडित नेपालीको जीवन कहिले सहज बन्ला ? तीन तहको सरकारको ध्यान कहिले जाला ?

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV