५ माघ २०७७, सोमबार
  • तारा आचार्य,

विराटनगर, ५ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् ।

दाहाल–नेपाल समूहका भीम आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री प्रस्ताव गर्दै शेरधन राईविरुद्ध अविश्वासको मत जाहेर गरेका झापाका प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले सोमबार (आज) विज्ञप्ती निकालेर फिर्ता लिएका हुन् ।

योसँगै प्रदेश १ मा नयाँ मुख्यमन्त्री आउने विषय जटिल बन्दै गएको छ । दाहाल–नेपाल समूहका ३७ जनाको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

जसमध्ये पाँच जनाले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन् । यस अगाडि कला घले र बसन्तीदेवी यादवले समेत उक्त प्रस्तावमा गरेका हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

बुधबारदेखि प्रदेशसभाको अधिवेशन सुरु हुँदैछ । यो अधिवेशनमा नेकपाभित्रको विवादको झल्को आउनेवाला छ । सरकार नै परिवर्तन हुनसक्ने सम्भावनालाई विस्तारै सरकार पुनर्गठनतर्फ मोडिएको छ ।

दुवै पक्षलाई आ–आफ्नो पक्षमा वहुमत जुटाउन र सरकार गठन गर्नको लागि दौडधुप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV