५ माघ २०७७, सोमबार
  • जनकबहादुर शाही

हुम्ला, ५ माघ । कोरोना कहरले बन्द भएको सिमकोट गाउँपालिकाका भित्र संचालित सामुदायिक तथा निजी विद्यालय माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् ।

आजसोबार दिउँसो बसेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निणर्य गरेको हो । पालिकामा २३ वटा सामुदायिक र ५ वटा निजी गरी २८ वटा विद्यालय संचालनमा छन् ।

ती सबै विद्यालयले सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्ने निणर्य भएको सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले निजी तथा सामुदायिक २८ वटा विद्यालयका लागि चाहिने सेनिटाइजर पालिकाले उपलब्ध गराउने छ भने मास्कको व्यवस्था विद्यार्थी स्वयमले गर्नु पर्ने अधिकृत रोकायाले जानकारी दिएका छन् ।

यसभन्दा अगाडी सिमकोट गाउँपालिकाले कात्तिक १९ गतेबाट विद्यालय सञ्चालन गरेर एक हप्ता पठनपाठन गरेको थियो भने उत्तरी नाम्खा गाउँपालिका महाबौद्ध याल्वाङमा अध्ययनरत विद्यार्थीमा कोरोना देखिएपछि पुन बिद्यालय बन्द गरीएको थियो ।

हुम्लामा मङसिरमा अन्तमा वार्षिक परीक्षा भएर फागुन पहिलो साता नयाँ शैक्षिक सत्र शुरु हुने भएपनि यो वर्ष कोरोनाका कारण शैक्षिक संस्था बन्द भई विद्यार्थीको पढाइमा बाधा पुगेको छ । माघ १५ गतेबाट विद्यालय सञ्चालन गरी हुम्लामा पनि यस बर्षको शैक्षिक सत्र आउदो जेष्ठबाट सुरु गर्ने सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले जानकारी दिनुभयो ।

सिमकोट गाउँपालिका भित्रका बिद्यालय माघ १५ बाट संचालन गर्ने भनिएपनि जिल्लाका अन्य गाउँपालिकाका विद्यालय भने कोरोना त्रासले बन्द रहेका छन् ।

हुम्लामा हालसम्म ९१ जनामा कोरोना संक्रमण देखिएको थियो भने अहिलेजिल्लामा एक जना मात्रै सक्रिय संक्रमित रहेको जिल्ला अस्पताल हुम्लाका प्रबक्ता भक्ति फडेराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV