५ माघ २०७७, सोमबार
  • अभिमन्यू लामिछाने,

उदयपुर, ५ माघ । उदयपुरको कटारी नगरपालिका–२ खोक्सामा माघेसंक्रान्तिदेखि जारी ऐतिहासिक धार्मिक महत्वको त्रिवेणी मेलामा जिल्ला प्रशासन कार्यालय उदयपुरले रोटेपिंग सञ्चालनमा रोक लगाएको छ ।

मेला व्यवस्थापक नरबहादुर तामाङले जिल्ला प्रशासन कार्यालय उदयपुरले मेला महोत्सवका लागि कोरोनाको कारण देखाउदै अनुमति दिन नमानेको बताए ।

मेलामा रोटेपिङ सञ्चालन गर्न प्रशासनले नदिएको उनले बताए । ‘मेलामा पुजा आजा गर्न आउने मेला घुम्न आउनेहरुको घुइचो छ । सबैले रोटेपिङ किन नचलाएको भनेर गुनासो गरिरहेका छन्’ तामाङले भन्नुभयो, ‘मेला लाग्ने भएपछि रोटेपिङ ल्याएर जडान गरेर तयार गरियो । तर, अहिले चलाउन पाइएन् ।’

गत पुष १३ को कटारी नगरकार्यपालिकाको बैठकको निर्णय भन्दै मेला नलगाउने जनाएको नगरपालिकाले फेरि पुष २३ मा कार्यपालिकाको वैठकले निर्णय गर्दै मेला लगाउन दिने भएपछि मेला सुरु भएको थियो ।

ऐतिहासिक धार्मिक महत्वको मेला नलगाउने निर्णयप्रति स्थानीयले व्यापक विरोध जनाएपछि अन्तः कोरोनाको कारण देखाएको नगरपालिका मेला लगाउन दिने अवस्थामा पुगेको थियो ।

मैनी मेलाले समेत परिचित मेला कोरोना भाइरसको संक्रमणका कारण नलगाउने निर्णय गरिएकोप्रति स्थानीयले सामाजिक सञ्जालमा समेत विरोध जनाएका थिए । वडा नम्बर २ को तावा, कमला र ककरु नदीको संगमस्थल त्रिवेणीमा हरेक वर्षको माघेसंक्रान्तिदेखि मेला लाग्दै आएको छ ।

परापूर्वकालदेखि नै विगतमा माघ महिनाभरी र शसस्त्र द्वन्दका समयपछि १५ दिनसम्म यो मेला लाग्दै आएको थियो । उक्त मेलामा आई भाकल गरे अनुसारको पशुपन्क्षी बलि दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको छ ।

विगतमा प्रदेश १, २, बाग्मती प्रदेशका अलावा भारतबाट समेत यस मेलामा मकर नुवाई पुजा आराधना गर्न दर्शनार्थीहरु आउने गरेका थिए । ‘यस वर्षपनि गत साल भन्दा व्यापारी धेरै आएका छन्’ २० वर्षदेखि मेलामा व्यापार गर्दै आएका कटारीकै स्थानीय ४५ वर्षीय बिजय शाहले भने, ‘मेलामा संक्रान्तिका दिन भीडभाड थियो तर रोटेपिङ समेत नचलेपछि मेलामा आउने निराश भए ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV