५ माघ २०७७, सोमबार
  • उत्तम पौडेल,

पोखरा, ५ माघ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी गत पुष महिनामा भए गरेका अपराधिक गतिविधिहरुको बारेमा जानकारी गराइएको छ ।

जस अनुसार अघिल्ला बर्षहरुमा भन्दा यो बर्ष हरेक प्रकारका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय कास्कीले दाबी गरेको छ । पुष महिनामा सबैभन्दा बढी बैकिङ कसुर मुद्धा दर्ता भएका छन् । बैकिङ कसुर (चेक बाउन्स) मुद्धा मा मात्र गत पौषमा २७ वटा मुद्धा दर्ता भएका छन् ।

त्यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकताका विरुद्धको कसुर, अभद्र व्यवहारमा १५, लागू औषधमा ११, जबरजस्ती करणीमा ३ मुद्धा दायर गरिएको कास्की प्रहरीले जनाएको छ ।

त्यसैगरि जबरजस्ती करणी उद्योग २, चोरीमा १, बहुविवाहमा ४, ठगीमा ३, ज्यान मर्ने उद्योग १ , सवारी ज्यान ४, भवितव्य ज्यान ७, फुटकर ज्यान ८, वालयौन दुरुपयोग १ र विष सेवन गरी आत्महत्यामा १ वटा गरी कुल १०६ वटा मुद्धा जिल्ला प्रहरी कास्कीमा दर्ता भएको कास्की जिल्ला प्रहरी प्रमुख जीवन कुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।


जसमा जघन्य अपराधको संख्या न्यून रहेको कास्की प्रहरीले पत्रकार सम्मेलन्मार्फत जानकारी दिएको छ । यसैगरी कास्की प्रहरीको पहलमा स्वदेशी पुरुष ६६, महिला ८ र १ विदेशी पुरुष गरी जम्मा ७५ जना अभियुक्त पक्राउ गरिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

पुषमा लागूऔषध मुद्धामा १८ पुरुष र २ महिला गरी २० जना पक्राउ गरिएको र उनीहरुबाट ब्रुफिनर्फिन २१९ एम्पुल, डाईजापाम २२१ एम्पुल, फेनेरागन २२० एम्पुल, नाइट्रोभ्याट ६० चक्की र गाँजा १ के.जी १० ग्राम बरामद गरिएको प्रमुख श्रेष्ठले बताए ।

विगत लामो समयदेखि कोभिडका कारण पत्रकार भेटघाट आयोजना गर्न नसकेको पनि प्रहरी प्रमुख श्रेष्ठले जानकारी गराए । कोभिड संक्रमणको जोखिम बढी भएको बेला पनि प्रहरी हरेक ठाउँमा अग्रसर रहेकाले यो बर्ष कास्कीमा अघिल्लो बर्षको तुलनामा घटना कम घटेको श्रेष्ठले दाबी गरे ।

पछिल्लो समय लागू औषधका धेरै मुद्धा आफूहरुले हेरिरहेको र त्यसको न्यूनीकरणका लागि सचेतना कार्यक्रमको आयोजना गरेको बताए । कोभिडको संक्रमण घटाउनका लागि पनि सचेतनाका कार्यक्रमहरु बढी गरेको पनि प्रमुख श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV